लेख विवरण

हिमालयन च्यालेन्जर्सः आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

हिमालयन च्यालेन्जर्सः आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

काठमाडौं । २०८२ साल माघ २ गते शुक्रबार

काठमाडौं । हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको छैटौं दिन शुक्रबार आशिर्वाद थापा र सजल न्यौपानेले बराबरी खेल्दा शीर्षस्थानका अभिक शाहलाई प्रत्यक्ष फाइदा पुगेको छ । अभिकले लगातार छैटौं जित हासिल गर्दै पाँच अंकको अग्रता लिएका छन् ।

प्रतियोगितामा १६९७ रेटेड सजल दोस्रो वरीयताका खेलाडी हुन् । उनलाई १४८१ रेटेड आशिर्वादले बराबरीमा रोकेपछि अभिकले अग्रता बढाउने अवसर पाएका हुन् । त्यसैले १९१८ रेटेड अभिक अनरेटेड लियोन महर्जनलाई पराजित गर्दै लगातार छैटौं जितसहित १८ अंक बनाउँदै उपाधि होडमा अगाडि बढेका हुन् । सेन्ट जेभियर्स कलेजका अभिकले शनिबार हुने सातौं चरणमा उजिभानी कँडेलविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

हिमालयन चेस एकेडेमीको काठमाडौं ११ स्थित थापाथलीको चेस हल सञ्चालन भइरहेको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक जितमा ३ अंक र बराबरीमा १ अंक दिइने नियम छ । त्यस आधारमा छैटौं चरणको खेल सकिँदा अभिक शाह ६ जितसहित १८ अंक जोड्दै शीर्षस्थानमा रहेका छन् । सजल र आशिर्वाद समान चार जित, एक बराबरी र एक हारको नतिजासँगै १३ अंकमा छन् ।

अरिज राई, सात्विकमान तुलाधर, लियोन महर्जन र निहाना श्रेष्ठ समान तीन जित र दुई हारको नतिजासँगै १२ अंकमा छन् । विमश लोहनी, हार्दिक पन्त र प्रवीर केसीले समान तीन जित, दुई बराबरी र एक हारको नतिजासँगै ११ अंक जोडेका छन् ।

नब्बे मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको खेलमा छैटौं दिन अभिकसँगै निहाना, अरिज, सात्विक, हार्दिक, प्रवीर, विमश, अनमोल राई, ओजस्वी श्रेष्ठ, रियांशु पौडेल, सूर्यप्रतापसिंह कार्की र अभियान राई पनि जित हात पारे । अभियानले पहिलो जित हासिल गर्ने क्रममा विराज सरियाको चुनौती पन्छाए । नायुमा मगर र ईश्वर लामाले बराबरी खेल्दै अंक बाँडे ।

स्वीस प्रणालीको आधारमा नौ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक खेल भइरहेको छ । कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेस माघ ५ गते सोमबारसम्म सञ्चालन हुनेछ, जसमा फिडे रेटेड १५ खेलाडी छन् भने अनरेटेडको संख्या पनि १५ रहेको छ ।

अचेल छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरबृद्धि लागि उपयुक्त मानिएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको एकेडेमीकी संस्थापक मोनालिशा खम्बू बताउँछिन् । प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको विश्लेषण गरिरहेका छन् ।

हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । त्यसैले उसको ११ औं प्रतियोगिता हो– हिमालयन च्यालेन्जर्स क्लासिकल चेस ।

चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ । भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.