लेख विवरण

खुमा अर्याल टी–२० कप क्रिकेट: कालीगण्डकीको सशक्त सुरुवात, फेदीखोला ४९ रनले पराजित

खुमा अर्याल टी–२० कप क्रिकेट: कालीगण्डकीको सशक्त सुरुवात, फेदीखोला ४९ रनले पराजित

स्याङ्जा, माघ २ — प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेट प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाले प्रभावशाली जितसहित विजयी सुरुवात गरेको छ। पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा कालीगण्डकीले फेदीखोला गाउँपालिकालाई ४९ रनले पराजित गरेको हो।

खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजनामा सुरु भएको प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको कालीगण्डकीले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा १७५ रन बनाएको थियो।

३.१ ओभरमै १२ रनमा पहिलो विकेट गुमाएको कालीगण्डकीका लागि हिलसन पाण्डे र दर्सा सुनारले दोस्रो विकेटका लागि १४६ रनको उत्कृष्ट साझेदारी गर्दै टिमलाई मजबुत स्थितिमा पुर्‍याए। ७३ रनमा दर्सा सुनार आउट भएपछि भने कालीगण्डकीले क्रमशः विकेट गुमाएको थियो।

अण्डर–१९ राष्ट्रिय टोलीका खेलाडी दर्सा सुनारले ४७ बलमा पाँच चौका र पाँच छक्काको मद्दतले ७३ रनको आकर्षक पारी खेले। कालीगण्डकीका लागि हिलसन पाण्डेले ६५ रन बनाउँदा भुवन भण्डारीले दुई बलमा नटआउट सात रन जोडे।

फेदीखोलाका लागि प्रशान्त सुवेदी र सुजन गौतमले दुई–दुई विकेट हात पारे।

१७६ रनको लक्ष्य पछ्याएको फेदीखोलाले निर्धारित ओभरमा छ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो। फेदीखोलाले २० रनमा पहिलो विकेट गुमाएको थियो भने ४९ रनमा चौथो विकेट झरेको थियो। पाँचौँ विकेटका लागि सार्दुल भट्ट र प्रविन पौडेलले ५७ रनको साझेदारी गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन्।

प्रतियोगिताको पहिलो चरण माघ ४ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो चरण माघ ९ गतेदेखि १४ गतेसम्म हुने आयोजकले जनाएको छ। प्रतियोगितामा स्याङ्जा जिल्लाका ११ वटै स्थानीय तहको सहभागिता रहेको छ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ, जसअन्तर्गत समूह ‘ए’, ‘बी’ र ‘सी’ मा तीन–तीन पालिका तथा समूह ‘डी’ मा दुई पालिका रहेका छन्।

प्रत्येक समूहका विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलमा समूह ‘ए’ र ‘सी’ तथा ‘बी’ र ‘डी’ का विजेताबीच प्रतिस्पर्धा हुनेछ।

स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको खुमा अर्याल फाउन्डेसनले स्याङ्जालाई क्रिकेटसहित विभिन्न खेलको केन्द्रका रूपमा विकास गर्दै जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको फाउन्डेसनका सचिव ध्रुव शर्माले जानकारी दिनुभयो।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। तेस्रो स्थान हासिल गर्ने टोलीले एक लाख र सान्त्वना टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै, प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछ भने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही १०–१० हजार रुपैयाँ प्रदान गरिने फाउन्डेसनले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.