धरानमा बुढासुब्बा गोल्डकप फुटबल: २६औँ संस्करण माघ २२ देखि
धरान (सुनसरी) — धरानमा प्रत्येक वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि सुरु हुने भएको छ।
धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको प्रतियोगिता यस वर्ष माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रंगशालामा आयोजना हुने आयोजकले जानकारी दिएका छन्।
आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष प्रताप तामाङले गत वर्ष आठ टोली सहभागी भएको प्रतियोगितामा यस वर्ष १० वटा टोली सहभागिता जनाउने जानकारी दिनुभयो।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन्। साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ।
क्लबका महासचिव नवीन राईका अनुसार प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। सर्वाधिक गोलकर्तालाई भने ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त हुने छ।
यस वर्षको प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, चर्च ब्वाइज क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, रोयल थिम्फु क्लब भुटान, जर्जियन क्लब लेम्पुङ भारत, एलए क्लब पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौं, झापा–११ झापा र धरान फुटबल क्लबको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता मोफसलमा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा उपलब्ध गराउने र स्थानीय खेलाडीको प्रतिभा उजागर गर्ने लक्ष्यका साथ धरानमा प्रत्येक वर्ष आयोजना हुँदै आएको छ।

टिप्पणी लेख्नुहोस्