तेस्रो त्रिवेणी कप पुरुष भलिवलको उपाधि आयोजक त्रिवेणी खेलकुद समितिलाई
हिले, माघ १ — धनकुटाको चौबिसे गाउँपालिकामा सम्पन्न तेस्रो त्रिवेणी कप पुरुष भलिवल प्रतियोगिताको उपाधि आयोजक टोली त्रिवेणी खेलकुद समितिले हात पारेको छ। चौबिसे गाउँपालिका वडा नं. ४ र ५ को संगमस्थल हंसमोरङमा बिहीबार सम्पन्न फाइनल खेलमा आयोजक त्रिवेणीले कोशी प्रदेश प्रहरीलाई पराजित गर्दै च्याम्पियन बनेको हो।
रोमाञ्चक फाइनल खेल पाँच सेटसम्म पुगेको थियो। आयोजक त्रिवेणीले कोशी प्रदेश प्रहरीलाई २३–२५, २५–२२, २१–२५, २५–२१ र १५–७ को सेटमा पराजित गर्दै उपाधि सुनिश्चित गर्यो।
उपाधिसँगै आयोजक त्रिवेणी खेलकुद समितिले नगद एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको कोशी प्रदेश प्रहरीले ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझाएको छ।
कोशी प्रदेशका छ टोलीको सहभागिता रहेको प्रतियोगितामा आयोजक त्रिवेणी खेलकुद समितिका प्रदिप कटेल सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो। उहाँले नगद दुई हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो।
यस्तै, उत्कृष्ट लिब्रोको उपाधि कोशी प्रदेश प्रहरीका युगल मगरले हात पार्नुभयो भने उत्कृष्ट सेटर आयोजक त्रिवेणीका जितेश राई घोषित हुनुभयो। उत्कृष्ट ब्लकरमा कोशी प्रदेश प्रहरीका ऋषि घिमिरे र उत्कृष्ट स्पाइकरमा आयोजक त्रिवेणीका रविन गौतम चयन हुनुभयो। विधागत उत्कृष्ट खेलाडीहरूले जनही दुई हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको त्रिवेणी कप भलिवल प्रतियोगिताको तेस्रो संस्करण यस वर्ष त्रिवेणी खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको हो। प्रतियोगिताले स्थानीय खेल प्रतिभा पहिचान तथा भलिवल प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक समितिका संयोजक रोशन भण्डारीले बताउनुभयो।

टिप्पणी लेख्नुहोस्