सात वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपाल विजयी, श्रीलङ्का २–१ ले पराजित
काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष फुटसल टोलीले सात वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा जितको स्वाद चाखेको छ। थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले श्रीलङ्कालाई २–१ गोलले पराजित गरेको हो।
यो जितसँगै नेपालले लामो समयदेखिको जितविहीन यात्राको अन्त्य गरेको छ। नेपालले यसअघि अन्तिम पटक १४ डिसेम्बर २०१८ मा पाकिस्तानलाई २–१ गोलले हराएको थियो। उक्त जित पाकिस्तानको इस्लामाबादमा आयोजना भएको त्रिकोणात्मक (ट्राङ्गुलर) फुटसल सिरिजमा प्राप्त गरेको थियो, जुन अन्तर्राष्ट्रिय फुटसलमा नेपालको दोस्रो जितसमेत थियो।
त्यसअघि नेपालले सन् २०१८ को फेब्रुअरीमा सम्पन्न इन्टरनेसनल सकर फुटसल कपमा टर्कीलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको थियो। त्यसपछि खेलेका सबै अन्तर्राष्ट्रिय खेलमा नेपाल जितविहीन रहँदै आएको थियो।
शुक्रबारको खेलमा भने नेपालले उत्कृष्ट पुनरागमन गर्यो। खेलको १०औँ मिनेटमा मोहमेद साजनले गोल गर्दै श्रीलङ्कालाई अग्रता दिलाए। तर, त्यसको पाँच मिनेटपछि सरोज तामाङले गोल गर्दै नेपाललाई खेलमा फर्काए।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। दोस्रो हाफको २१औँ मिनेटमा सरोज तामाङले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको २–१ को जित सुनिश्चित गरे।
यस जितले साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपालको आत्मविश्वास बढाएको छ भने आगामी खेलका लागि सकारात्मक सन्देश दिएको छ।

टिप्पणी लेख्नुहोस्