नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल माघ १५ देखि, ८ टोलीको सहभागिता
उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहामा आयोजना हुँदै आएको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको ११औँ संस्करण माघ १५ गतेदेखि सुरु भई माघ २२ गतेसम्म सञ्चालन हुने भएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक बसाहा क्लबले प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो। प्रतियोगिता चौदण्डीगढी नगरपालिका–४ स्थित बसाहा बर्खे डाँडामा रहेको नारदमुनि थुलुङ रंगशालामा आयोजना गरिने बसाहा क्लबका अध्यक्ष दिनेश राईले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रतियोगितामा आयोजक बसाहा क्लबसहित एलएक्स सिटी मोरङ, द यङ ब्रदर्स सुनसरी, नेपाल खेलकुद रौतहट, एपीएफ क्लब काठमाडौं, न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी तथा झापा–११ गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बसाहा क्लबका सचिव दिपेन्द्र लामाले जानकारी दिनुभयो।
यसैगरी प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, बेस्ट गोलकिपर, उदीयमान खेलाडी लगायतका विधागत उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपैयाँ नगदसहित कप र मेडल प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न अनुमानित २४ देखि २५ लाख रुपैयाँ खर्च लाग्नेछ। प्रतियोगिता सम्पन्न गर्न चौदण्डीगढी नगरपालिकाबाट ९ लाख रुपैयाँ, वडा नं. ३ बाट ५० हजार, वडा नं. ४ बाट १ लाख, कटारी नगरपालिकाबाट १ लाख तथा देश–विदेशमा रहेका स्थानीय व्यक्ति, संघसंस्था र टोल विकास समितिहरूको सहयोगबाट ८ लाख ८६ हजार रुपैयाँ सङ्कलन गरिएको क्लबका कोषाध्यक्ष तेन्जु राईले जानकारी दिनुभयो।
२००७ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय नारदमुनि थुलुङ राईको स्मृतिमा बसाहा क्लबले विगत डेढ दशकदेखि निरन्तर रूपमा यो प्रतियोगिता आयोजना गर्दै आएको छ।
स्वर्गीय नारदमुनि थुलुङ राईले साविक बसाहा गाविस, हालको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप नारद आदर्श शिक्षा क्याम्पस, नारद आदर्श माध्यमिक विद्यालय तथा नारदमुनि थुलुङ रंगशालाको स्थापना र नामकरण गरिएको छ।

टिप्पणी लेख्नुहोस्