लेख विवरण

आहा रारा पोखरा गोल्डकपको रजत जयन्तीमा रात्रिकालीन फुटबल, फ्लडलाइटमा खेल हुने

आहा रारा पोखरा गोल्डकपको रजत जयन्तीमा रात्रिकालीन फुटबल, फ्लडलाइटमा खेल हुने

पोखरा — नेपालकै प्रतिष्ठित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करण (रजत जयन्ती) लाई विशेष बनाउँदै यस वर्ष प्रतियोगिता साँझका समयमा फ्लडलाइटको प्रकाशमा सञ्चालन गरिने भएको छ। रजत जयन्तीको अवसरमा पोखरामा पहिलो पटक अस्थायी फ्लडलाइट जडान गरी रात्रिकालीन फुटबल आयोजना गरिने आयोजकले जानकारी दिएका छन्।

प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङका अनुसार यस वर्षको गोल्डकपलाई थप आकर्षक बनाउन फ्लडलाइटको व्यवस्था गरिएको हो। “रजत जयन्तीको अवसरमा पोखरामा पहिलो पटक अस्थायी फ्लडलाइट जडान गरेर रात्रिकालीन फुटबल आयोजना गर्ने तयारीमा छौँ। यस पटक पोखरेली दर्शकका लागि यही नै मुख्य आकर्षण हुनेछ,” उहाँले भन्नुभयो।

साँझका समयमा खेल सञ्चालन हुँदा दैनिक कामकाज सकेर पनि दर्शकहरू रंगशालामा उपस्थित हुन सक्ने आयोजकको विश्वास छ। पोखरा रंगशालाको फुटबल मैदानका चारै कुनामा करिब ३५ फिट उचाइका अस्थायी पोल स्थापना गरी फ्लडलाइट जडान गरिने सहारा क्लबले जनाएको छ। प्रत्येक पोलमा १२ देखि १६ वटा शक्तिशाली बत्ती जडान गरिनेछ।

फ्लडलाइट, स्ट्यान्ड, तार, जेनेरेटरलगायत सम्पूर्ण संरचना निर्माणमा करिब २० देखि २५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

यस वर्ष माघ २७ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी चर्चित क्लबहरूको सहभागिता गराउने तयारी भइरहेको आयोजकले जनाएको छ। फ्लडलाइटको व्यवस्थाले खेलको गुणस्तर, दर्शकको उपस्थिति र समग्र प्रतियोगिताको आकर्षण थप बढ्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

२०५८ सालदेखि निरन्तर आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्डकप मोफसल स्तरकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा परिचित छ। सहारा फुटबल एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालक आश्रित रहेको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो। गोल्डकपबाट प्राप्त बचत रकम एकेडेमी सञ्चालन र बाल प्रतिभा विकासमा खर्चिँदै आएको उहाँले बताउनुभयो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.