केभीकेएसएस र तेजस्वी विजयी
काठमाडौं, माघ ११ गते । आयोजक काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र तेजस्वी एकेडेमीले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आइतबार जित हात पारेका छन् ।
केभीकेएसएसको ‘ए’, ‘बी’ र ‘सी’ टोलीले प्रतिस्पर्धा गरेकोमा ‘ए’ र ‘सी’ टोलीले सफलता पाए । टोखा नगरपालिकाको मिलन टोलस्थित घरेलु कोर्टमा केभीकेएसएस ‘ए’ ले पारामाउन्ट एकेडेमीलाई ३०–२० ले पराजित ग¥यो । केभीकेएसएस ‘ए’ को जितमा रोसी श्रेष्ठले १४ अंक योगदान गरिन् । चेलिसा गुरुङको १३ अंक सहयोगमा केभीकेएसएस ‘सी’ ले काठमाडौं युरोलाई १६–१० ले हरायो । ज्ञानोदयले केभीकेएसएस ‘बी’ लाई १९–१० ले पाखा लगायो । ज्ञानोदयकी सिमरन तण्डुकारले ६ अंक जोडिन् ।
अन्य खेलमा तेजस्वीले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १८–८, इडेन ब्रिज एकेडेमी (इबीए) ले जेबी स्कुललाई ३१–२० र भ्याली पब्लिकले ल्यान्डमार्क एकेडेमीलाई २५–१६ ले पन्छाए । तेजस्वीकी एस्टर बरुवालले १२, इबीएकी अनामिका पटेलले २० र भ्याली पब्लिककी दृष्य गुरुङले १५ स्कोर गरे ।
प्रतियोगिताको केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरिन् । माघ १७ गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगितामा १६ टिम सहभागी छन् ।

टिप्पणी लेख्नुहोस्