लेख विवरण

कमाने प्रिमियर लिगः कमाने लायन्स अपराजित, इप्लानेट ब्लास्टर २ विकेटले पराजित

कमाने प्रिमियर लिगः कमाने लायन्स अपराजित, इप्लानेट ब्लास्टर २ विकेटले पराजित

हेटौँडा । हेटौँडा–८, कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनामा जारी चौंथो संस्करणको कमाने प्रिमियर लिगको चौथो खेलमा कमाने लायन्सले कमाने इप्लानेट ब्लास्टरलाई २ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ।

मंगलबार सम्पन्न खेलमा १ सय ५६ रनको लक्ष्य पछ्याएको कमाने लायन्सले १९ ओभर ३ बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। यस जितसँगै लिग चरणका तीनै खेलमा विजय हासिल गर्दै कमाने लायन्स ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

यसअघि लायन्सले पहिलो खेलमा कमाने रोयल्सलाई ८ विकेटले, दोस्रो खेलमा कमाने थर्ड आइ जापान समुरायलाई ८ विकेटले पराजित गरेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको कमाने इप्लानेट ब्लास्टरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो। टोलीका लागि विजय घलानले ४६ बलमा ७२ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले। रिशभ चौधरीले २८ बलमा २८ रन र सरोज यादवले ८ बलमा १६ रन जोडे। बलिङतर्फ कमाने लायन्सका समीर चौलागाईंले २ विकेट लिँदा सुभ कंसकार र रमेश लुइँटेलले समान १–१ विकेट हात पारे।

जवाफी ब्याटिङमा कमाने लायन्सका विवेक सहनीले २५ बलमा ४७ रनको आक्रामक इनिङ खेल्दै टोलीलाई जिततर्फ डोर्याए। रमेश लुइँटेलले २३ बलमा ४२ रन र अरुण दहालले ११ बलमा २२ रनको योगदान दिए। इप्लानेट ब्लास्टरका विजय घलान, रिशभ चौधरी र सुजन चौलागाईंले समान २–२ विकेट लिए।

खेलको ‘म्यान अफ द म्याच’ विवेक सहनी घोषित भए। उनले नगद १ हजार रुपैयाँसहित मेडल प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो खेलमा कमाने राइडर्स र कमाने लायन्स तथा दोस्रो खेलमा कमाने रोयल्स र कमाने थर्ड आइ जापानबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान ९ बजेदेखि सुरु हुनेछन्।

हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट, सोसियल एण्ड साइन्सको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्रदान गरिने आयोजक संस्थाका प्रिन्सिपल पुरनबहादुर जोशीले जानकारी दिए।

प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.