लेख विवरण

यलम्बर कप ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

यलम्बर कप ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भइरहेको चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण शुक्रबार पूरा भएको छ । प्रतियोगितामा समावेश पाँचै स्पर्धाको सेमिफाइनल समीकरण पूरा भएको हो ।

प्रतियोगितामा ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । पुरुष डबल्स ‘ए’ डिभिजन र ‘बी’ डिभिजन, यु–१७ ब्वाइज सिंगल्स, महिला डबल्स र भेट्रान ४५ वर्षमाथि पुरुष डबल्सका सबै पदक विजेताले नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ५५ हजार रुपैयाँ रहेको छ । ३ सय १४ खेलाडी सहभागी प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

ब्वाइज यु–१७ मा आर्मीका चारै खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन् । सुदेश राजकोटी, सदिप राई, दीप थिङ र सौर्य महर्जनले सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला डबल्समा एपीएफकी नविना राई र आयोजक नखिपोट युथ क्लबकी हाङमा सुब्बा, भक्तपुरकी सफी खत्री र एपीएफकी स्वर्लिम श्रेष्ठ, मेचीकी अन्जना राई र स्पोर्ट्स हबकी सीता राई तथा कास्कीका दिलाशा राणा र माया राणाको जोडी सेमिफाइनलमा पुगे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङ, युनिटीका आकाश छन्त्याल र आङ कुसाङ शेर्पा, कास्कीका प्रेमकुमार गुरुङ र शम्भु श्रेष्ठ तथा कीर्तिपुरका ए महर्जन र चन्द्रागिरीका आर पोखरेलले सेमिफाइनल यात्रा तय गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.