प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट छनोटः इनाचोपासा क्रिकेट क्लबद्धारा १२१ रनको शानदार जित
भक्तपुर । प्रधानमन्त्री कप भक्तपुर जिल्ला छनोट अन्तर्गत भएको खेलमा इनाचोपासा क्रिकेट क्लबले भक्तपुर नगरपालिका क्रिकेट संघलाई १२१ रनले पराजित गरेको छ।
टस जितेर पहिले बलिङ रोजेको भक्तपुर नगरपालिका क्रिकेट संघले इनाचोपासालाई ५० ओभरमा प्रतिस्पर्धात्मक योगफल बनाउने अवसर दियो। इनाचोपासाका रिङ्गिजिन लामाले आक्रामक ब्याटिङ गर्दै ६९ बलमा ९२ रनको उत्कृष्ट इनिङ्स खेले। उनले १४ चौका र ३ छक्का प्रहार गरे। उनलाई सुवाष खत्रीले २६ बलमा ४६ रन बनाएर राम्रो साथ दिए। साथै बिबेक यादवले ७१ बलमा ५४ रन तथा अनुप श्रेष्ठले ५३ बलमा ४५ रनको योगदान दिए।
इनाचोपासाले ५० ओभरमा सबै विकेट गुमाउँदै ३१३ रनको बलियो योगफल तयार गर्यो। भक्तपुरका भुपेन्द्र आचार्य, आकाश गुप्ता, मनमोहन ठाकुर र धिरेन्द्र बस्नेतले समान २–२ विकेट लिए।
३१४ रनको लक्ष्य पछ्याएको भक्तपुर नगरपालिका क्रिकेट संघको सुरुवात खासै प्रभावशाली हुन सकेन। सन्देश जंग कार्कीले ३९ बलमा २७ रन तथा विशाल देवकोटाले ३३ बलमा ३७ रन बनाए पनि अन्य ब्याट्सम्यान टिक्न सकेनन्। आयुष शाक्याले अविजित १७ रन जोडे।
इनाचोपासाका बलर अविनाश बस्याल घातक सावित भए। उनले १० ओभरमा मात्र ३९ रन खर्चेर ५ विकेट लिए। सुमन हुमागाईंले २ विकेट लिए भने अन्य बलरले पनि अनुशासित बलिङ प्रदर्शन गरे।
भक्तपुर नगरपालिका क्रिकेट संघ ४१.२ ओभरमै १९२ रनमा समेटिएपछि इनाचोपासा क्रिकेट क्लबले खेल १२१ रनले आफ्नो पक्षमा पार्यो।
यस जितसँगै इनाचोपासा क्रिकेट क्लबले पीएम कप जिल्ला छनोटमा आफ्नो दाबेदारी अझ बलियो बनाएको छ।

टिप्पणी लेख्नुहोस्