लेख विवरण

टी-२० विश्वकप वार्म-अपमा यूएईद्धारा नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत

टी-२० विश्वकप वार्म-अपमा यूएईद्धारा नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत

चेन्नई । आईसीसी पुरुष टी-२० विश्वकप वार्म-अप खेल अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। चेन्नईको एम.ए. चिदम्बरम स्टेडियममा जारी डे/नाइट अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।

पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनायो। यूएईका लागि सोहाइब खानले अविजित ३८ रनको योगदान दिए भने हर्षित कौशिकले २४ बलमा ३५ रन जोड्दै आक्रामक ब्याटिङ गरे। आर्यांश शर्माले २५ रन बनाए पनि ठूलो इनिङ खेल्न सकेनन्।

नेपालका बलरमध्ये करण केसी र सन्दीप लामिछाने प्रभावशाली देखिए। करण केसीले ३ ओभरमा २ विकेट लिँदै २६ रन खर्चिए भने सन्दीप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर २ विकेट हात पारे। दिपेन्द्र सिंह ऐरीले पनि किफायती बलिङ गर्दै ३ ओभरमा १२ रन खर्चेर १ विकेट लिए। अन्य बलरहरू भने विकेटविहीन रहे।

मध्यम स्कोर भए पनि यूएईले अन्तिम ओभरहरूमा रनको गति बढाएपछि नेपाललाई लक्ष्य पछ्याउन चुनौतीपूर्ण हुने देखिएको छ। विश्वकपअघि अभ्यासको दृष्टिले महत्वपूर्ण मानिएको यस खेलमा नेपाली टोलीको ब्याटिङ प्रदर्शनप्रति सबैको ध्यान केन्द्रित भएको छ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.