Sports Mala
- 104
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ः कहाँ, कसरी र कुन भाषामा हेर्न सकिन्छ?
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपको विस्तृत ब्रडकास्ट योजना सार्वजनिक गरेको छ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने यस प्रतिष्ठित प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा २० टोली सहभागी हुनेछन् भने कुल ५५ खेल खेलाइनेछ।
विश्वभरका क्रिकेट समर्थकहरूले यो विश्वकप टेलिभिजन, मोबाइल, डिजिटल प्लेटफर्म, रेडियो तथा अत्याधुनिक प्रविधिमार्फत प्रत्यक्ष हेर्न र सुन्न सक्नेछन्।
भारतमा कहाँ हेर्न सकिन्छ?
भारतमा प्रतियोगिताको आधिकारिक प्रसारण अधिकार जियोस्टारसँग रहेको छ। टेलिभिजनतर्फ स्टार स्पोर्ट्स नेटवर्कमार्फत खेलहरू प्रत्यक्ष प्रसारण हुनेछन् भने जियोहटस्टार एपमा डिजिटल स्ट्रिमिङ उपलब्ध हुनेछ।
भारतमा सबै खेलहरू अंग्रेजी, हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा उपलब्ध हुनेछन्। साथै बंगाली, भोजपुरी र हरियाणवी भाषामा पनि डिजिटल कभरेज हुनेछ। भारतका खेल, सेमिफाइनल र फाइनल मराठी भाषा र भारतीय सांकेतिक भाषामा समेत प्रसारण गरिनेछ।
मोबाइल प्रयोगकर्ताका लागि जियोहटस्टारमा अंग्रेजी र हिन्दी भाषामा भर्टिकल लाइभ फिड, ३६० डिग्री भ्यू तथा मल्टिक्याम विकल्प उपलब्ध गराइनेछ। साथै, भारतभरका पीभीआर–इनॉक्स सिनेमाघरहरूमा पनि छनोट गरिएका खेलहरू देखाइनेछन्।
नेपालसहित अन्य देशमा प्रसारण
नेपाल, श्रीलंका, बंगलादेश, भूटान र माल्दिभ्समा स्टार स्पोर्ट्समार्फत खेलहरू हेर्न सकिनेछ। नेपालमा कान्तिपुर टिभीले प्रतियोगिताको प्रसारण गर्नेछ, जसअन्तर्गत केही खेलहरू नेपाली भाषामा स्थानीय रूपमा उत्पादन गरिनेछन्।
केही क्षेत्रमा ICC.TV मार्फत पनि नेपाली कमेन्ट्री उपलब्ध हुनेछ।
सह–आयोजक श्रीलंकामा डायलोग टिभी आधिकारिक प्रसारण साझेदार हुनेछ, जहाँ सिंहली भाषामा पनि कमेन्ट्री सुन्न सकिनेछ। डायलोग टिभीको फ्री–टु–एयर साझेदार टिभी सुप्रिम र एसएलटी पीईओ टिभीमार्फत कभरेज विस्तार गरिनेछ।
युरोप, अमेरिका र अन्य क्षेत्र
युनाइटेड किङडम र आयरल्यान्डमा स्काई स्पोर्ट्स क्रिकेट र स्काई स्पोर्ट्स मेन इभेन्टमा खेलहरू प्रत्यक्ष देखाइनेछन्।
सेमिफाइनल र फाइनलमा हिन्दी कमेन्ट्री पनि उपलब्ध हुनेछ।
पहिलोपटक विश्वकप खेल्न लागेको इटालीका खेलहरू स्काई इटालियाले प्रत्यक्ष प्रसारण गर्नेछ।
संयुक्त राज्य अमेरिका र क्यानडामा विलो टिभीले सबै ५५ खेल अंग्रेजी र हिन्दी भाषामा प्रत्यक्ष स्ट्रिम गर्नेछ। यी खेलहरू विलोको आधिकारिक युट्युब च्यानलमार्फत पनि निःशुल्क उपलब्ध हुनेछन्।
अष्ट्रेलियामा प्राइम भिडियो, न्युजिल्यान्डमा स्काई स्पोर्ट्स, पाकिस्तानमा पीटीभी र माइको, दक्षिण अफ्रिकासहित सब–सहारा अफ्रिकामा सुपरस्पोर्ट ले कभरेज गर्नेछन्।
युएई र मध्यपूर्व क्षेत्रमा क्रिकलाइफ म्याक्स मार्फत, क्यारेबियन क्षेत्रमा ईएसपीएन, ल्याटिन अमेरिकामा डिज्नी प्लस मार्फत प्रसारण हुनेछ। ब्राजिलमा केही खेलहरू पुर्तगाली कमेन्ट्रीसहित ईएसपीएनमा देखाइनेछन्।
बंगलादेशमा टी स्पोर्ट्स, नागोरिक टिभी र डिजिटल प्लेटफर्म र्याबिटहोल मार्फत कभरेज हुनेछ। अफगानिस्तानमा लेमर टिभीले पश्तो र दारी भाषामा कमेन्ट्री दिनेछ।
रेडियो र अडियो कभरेज
आईसीसी मोबाइल एपमार्फत विश्वभर अंग्रेजी अडियो कमेन्ट्री उपलब्ध हुनेछ।
युके र आयरल्यान्डमा बीबीसी रेडियो, अष्ट्रेलियामा एबीसी र एसईएन, भारतमा अल इन्डिया रेडियो र श्रीलंकामा डेरानाएफएमले बल–बाइ–बल रेडियो कमेन्ट्री प्रसारण गर्नेछन्।
यसरी, आईसीसी पुरुष टी–२० विश्वकप २०२६ विश्वभरका क्रिकेट समर्थकसम्म बहुभाषिक, बहुप्लेटफर्म र अत्याधुनिक प्रविधिमार्फत पुग्ने तयारीमा रहेको छ।

टिप्पणी लेख्नुहोस्