वादोरियो कराते टोलीको स्वागत
काठमाडौं। भारतको भिषाकापट्नममा भएको नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका पदक विजेता खेलाडीसहितको नेपाली वादोरियो कराते टोलीलाई स्वागत गरिएको छ । नेपाल वादोरियो कराते डो संघका सदस्य राजकुमार कार्कीलगायतले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म भएको प्रतियोगितामा नेपालले विभिन्न स्पर्धामा ३ स्वर्ण, २ रजत र २ कांस्य पदक जितेको नेपाल वादोरियो कराते डो संघकी महासचिव प्रतिक्षा श्रेष्ठले जनाएकी छन् ।
दिया पहरी, विसन थापा मगर र रिजन बुढा मगरले स्वर्ण जिते । शिशीर थापा मगर र स्वेता तारा गुरुङले रजत हात पारे । स्वेताले कांस्य पनि जितिन् । अर्को कांस्य राजु बुढाथोकीले प्राप्त गरे ।
अफिसियलमा वादोरियो कराते संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी रहेका छन् । सागर काफ्लेले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

टिप्पणी लेख्नुहोस्