आठौँ हिमालयन गोल्डकपको खेलतालिका सार्वजनिक
क्वालालम्पुर: मलेसियामा बसोबास गर्ने नेपाली समुदायका लागि सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हिमालयन गोल्डकपको आठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ।
क्वालालम्पुर हिमालय एफसीद्वारा आयोजित प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै आयोजकले आइतबार (फेब्रुअरी ८) क्वालालम्पुरस्थित होटल ग्राण्ड कण्टिनेन्टलमा विशेष कार्यक्रम आयोजना गरी खेलतालिका (टाइसिट) सार्वजनिक गरेको हो।
कार्यक्रममा मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा प्रतियोगितामा सहभागी १६ टिमका प्रतिनिधिहरूको उपस्थितिमा गोला प्रथामार्फत टाइसिट तय गरिएको थियो।
उक्त अवसरमा नेपाली फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष हेमप्रसाद भट्टले सहभागी १६ टिमका खेलाडीहरूलाई परिचयपत्र तथा एक–एक थान फुटबल वितरण गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले परिचयपत्र प्राप्त खेलाडीहरूले प्रतियोगिताको क्रममा हुन सक्ने दुर्घटनाका लागि नेपाली रुपैयाँ पाँच लाख बराबरको बीमा सुविधा पाउने जानकारी गराउनुभयो।
प्रतियोगिताको उपाधि विजेताले मलेसियन रिंगेट ४१ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले मलेसियन रिंगेट २१ हजार हात पार्नेछ।
त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई मलेसियन रिंगेट १ हजार प्रदान गरिनेछ। साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५ सय रिंगेट पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

टिप्पणी लेख्नुहोस्