लेख विवरण

छैठौं नरेश सिंह अन्तर–विद्यालय क्रिकेटः विणा विद्या मन्दिर र एड्भान्स्ड लर्नर्सको रोमाञ्चक जित

छैठौं नरेश सिंह अन्तर–विद्यालय क्रिकेटः विणा विद्या मन्दिर र एड्भान्स्ड लर्नर्सको रोमाञ्चक जित

जलेश्वर । विद्यालयस्तरका क्रिकेट प्रतिभालाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने उद्देश्यले सुरु भएको छैठौं नरेश सिंह अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा विणा विद्या मन्दिरले न्यु मोर्डन स्कुल लाई ७ विकेटले पराजित गर्दै सशक्त सुरुवात गरेको छ।

त्यसैगरी दिनको दोस्रो खेलमा एड्भान्स्ड लर्नर्स हिमालयन इंग्लिस बोर्डिङ स्कुलले अन्तिम क्षणसम्म पुगेको रोमाञ्चक प्रतिस्पर्धामा शिशु ज्ञान स्कुललाई १ विकेटले पराजित गर्दै जित दर्ता गर्‍यो।

जलेश्वरस्थित लचमु माध्यमिक विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन आइतबार उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष शिवचन्द्र चौधरीले विशेष कार्यक्रमबीच गरेका थिए। उद्घाटन समारोहमा बोल्दै उनले विद्यालय तहबाटै खेलकुदको विकास आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

आयोजकका अनुसार प्रतियोगितामा कुल पाँच विद्यालय टोलीको सहभागिता रहेको छ। प्रतियोगिता फाल्गुन २ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताका संयोजकले विद्यालय क्रिकेटको स्तर उकास्ने र नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको बताए। “विद्यार्थी खेलाडीलाई नियमित प्रतिस्पर्धामा उतार्न सकियो भने नेपाली क्रिकेटको भविष्य अझ उज्यालो हुनेछ,” उनले भने।

खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र टिमवर्कको भावना विकास गर्ने आयोजकको विश्वास छ। प्रतियोगितामार्फत विद्यार्थी खेलाडीले महत्वपूर्ण प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अपेक्षा गरिएको छ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.