प्रधानमन्त्री कप जिल्ला छनोट: क्रिकेट एक्सिलेन्स सेन्टरको विशाल जित
काठमाडौं — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौं जिल्ला छनोटको लिग चरणमा क्रिकेट एक्सिलेन्स सेन्टरले हिमालयन क्रिकेट एकेडेमीमाथि १०६ रनको फराकिलो जित दर्ता गरेको छ।
खेलमा पहिले ब्याटिङ गरेको क्रिकेट एक्सिलेन्स सेन्टरले ३९ ओभरमा सबै विकेट गुमाउँदै १८३ रन बनायो। टोलीको जितमा कप्तान ऋत गौतमको उत्कृष्ट शतक निर्णायक बन्यो। उनले १२२ बलमा १४ चौका र ५ छक्कासहित अविजित १३३ रन बनाएर एकल रूपमा इनिङ्स सम्हाले। अन्य ब्याटरहरू भने ठूलो योगदान दिन सकेनन्।
हिमालयन क्रिकेट एकेडेमीका बलरमध्ये कबी राज भट्टले ३ विकेट लिए भने सुमन बि.के. र आदित्य थापाले समान २–२ विकेट हात पारे।
१८४ रनको लक्ष्य पछ्याएको हिमालयन क्रिकेट एकेडेमीको ब्याटिङ धराशायी रह्यो। टोली ३५.५ ओभरमा जम्मा ७७ रनमै अलआउट भयो। अभिषेक बुधायरले सर्वाधिक २९ रन बनाए पनि अन्य ब्याटरहरू लामो समय टिक्न सकेनन्।
क्रिकेट एक्सिलेन्स सेन्टरका बलरहरूले घातक प्रदर्शन गरे। दयानन्द मण्डलले ४ विकेट लिँदै विपक्षी ब्याटिङ ध्वस्त पारे। युगान्त कार्कीले ३ विकेट लिए भने मोन्सन सिंह र ऋत गौतमले १–१ विकेट हात पारे। ऋत गौतमले बलिङतर्फ पनि किफायती प्रदर्शन गर्दै खेलमा ‘अलराउन्ड’ प्रभाव छाडे।

टिप्पणी लेख्नुहोस्