प्रधानमन्त्री कप जिल्ला छनोट: बंगलामुखी चिताजको रोमाञ्चक जित
ललितपुर — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत ललितपुर जिल्ला छनोट लिग चरणको खेलमा बंगलामुखी चिताजले बालकुमारी लायन्सलाई ११ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ।
पहिले ब्याटिङ गरेको बंगलामुखी चितासले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २०९ रनको प्रतिस्पर्धात्मक स्कोर तयार गर्यो। टोलीका लागि बिपिन आचार्यले ४९ बलमा ३९ रन बनाउँदै मध्यक्रम सम्हाले। आशुतोष घिरैयाँले १७ बलमा २३ रनको द्रुत इनिङ्स खेले भने बिशाल कुर्मी र सरोज थापाले उपयोगी योगदान दिए।
बालकुमारी लायन्सका बलरमध्ये आयुष जैसवालले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। तिलक भण्डारीले २ विकेट हात पारे।
२१० रनको लक्ष्य पछ्याएको बालकुमारी लायन्स अन्तिम समयसम्म खेलमा रहे पनि ४०.४ ओभरमा १९८ रनमै अलआउट भयो। कप्तान सचिन लेखकले ८४ बलमा ९६ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई जित नजिक पुर्याए। उनले ७ चौका र ४ छक्का प्रहार गरे। अर्जुन सुनारले ४२ रन बनाएर राम्रो साथ दिएका थिए।
बंगलामुखी चितासका बलरहरूले दबाबको क्षणमा उत्कृष्ट प्रदर्शन गरे। पंकज पाण्डे र विशाल भण्डारीले समान ३–३ विकेट लिए। समीर सोडेम्बा र बिपिन आचार्यले एक–एक विकेट हात पार्दै जित सुरक्षित गरे।

टिप्पणी लेख्नुहोस्