इन्डो–नेपाल च्याम्पियनसिप: काठमाडौँ किकर्स सडन डेथमा च्याम्पियन
काठमाडौँ, माघ २९ – स्वामी दयानन्द सरस्वतीको २०२औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि काठमाडौँ किकर्स फुटबल एकेडेमीले हात पारेको छ।
डिएभी विद्यालयको मैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा काठमाडौँ किकर्स र जावलाखेल युथ क्लबबीच कडा प्रतिस्पर्धा भएको थियो। निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि विजेता टुंगो लगाउन सडन डेथको सहारा लिनुपरेको थियो।
सडन डेथमा काठमाडौँ किकर्सले संयमित प्रदर्शन गर्दै ६–५ गोल अन्तरले जित निकाल्यो र उपाधि उचाल्यो। विजेता टोलीले नगद २० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता जावलाखेलले १० हजार रुपैयाँमा चित्त बुझायो।
तेस्रो स्थानका लागि भएको खेल पनि कम रोमाञ्चक रहेन। मारियो ग्रासरुट स्पोर्ट्स क्लब र एजी–१० फुटबल एकेडेमीबीचको प्रतिस्पर्धा निर्धारित समयमा १–१ गोलको बराबरीमा रोकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा एजी–१० ले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान सुरक्षित गर्यो।
प्रतियोगितामा बोलपुर टप क्लबले ‘फेयर प्ले अवार्ड’ जित्दै अनुशासित टोलीको पहिचान बनायो।
व्यक्तिगत विधातर्फ काठमाडौँ किकर्सका कबिर तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। एजी–१० का सिद्धान्त राय सर्वाधिक गोलकर्ता बने भने जावलाखेल युथ क्लबका जयन्द्र चौधरी उत्कृष्ट गोलकिपर घोषित भए।
प्रतियोगिताले युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक अनुभव दिलाउने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

टिप्पणी लेख्नुहोस्