लेख विवरण

कोसी–पाथीभरा इन्डो–नेपाल टी–२० को उपाधि भद्रपुरलाई, आसाम ४ विकेटले पराजित

कोसी–पाथीभरा इन्डो–नेपाल टी–२० को उपाधि भद्रपुरलाई, आसाम ४ विकेटले पराजित

झापा – भद्रपुरमा पहिलोपटक आयोजना गरिएको कोसी–पाथीभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिपको उपाधि घरेलु टोली भद्रपुर क्रिकेट क्लबले जितेको छ। रोमाञ्चक फाइनलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लब, आसामलाई ४ विकेटले हराउँदै भद्रपुरले ट्रफी आफ्नो नाममा लेखाएको हो।

उपाधिसँगै भद्रपुरले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आसामले ३ लाख रुपैयाँमा चित्त बुझाएको प्रतियोगिताका संयोजक गौरव सुब्बा ‘मनोज’ले जानकारी दिए।

भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको मैदानमा दर्शकको उल्लेख्य उपस्थितिबीच भएको खेलमा टस जितेर फिल्डिङ रोजेको भद्रपुरले सुरुदेखि नै आसाममाथि दबाब बनाएको थियो। ब्याटिङमा उत्रिएको आसाम १७.३ ओभरमै ८९ रनमा समेटियो।

आसामका रोहित सेनले २४ रन बनाए पनि अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन्। कप्तान निबिर डेकाले १५ र मोहम्मद हबिबुल्लाहले १२ रन जोडे। भद्रपुरका भुवन कार्की र विपिनकुमार महतोले समान ३–३ विकेट लिएर विपक्षीलाई सस्तो स्कोरमा रोके।

९० रनको लक्ष्य पछ्याएको भद्रपुरको सुरुआत पनि कमजोर रह्यो। ३० रनमै ५ विकेट गुमाएपछि टोली दबाबमा परेको थियो। तर भुवन कार्की र मुहमद आदिल आलमले पारी सम्हाल्दै खेललाई नियन्त्रणमा लिए। आदिलले ३९ रनको महत्वपूर्ण योगदान दिए। अन्तिम समयमा भुवन कार्की र श्रवण यादव अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए।

भुवन कार्कीले अलराउन्ड प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ अवार्डसहित ११ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कृत गरिएको थियो। भद्रपुरका कार्की ‘बेस्ट फिल्डर’, आसामका निबिर डेका ‘इमर्जिङ प्लेयर’ तथा लखनउका रमन कादयान ‘बेस्ट ब्याटर’ घोषित भए। उनीहरूले २५–२५ हजार रुपैयाँ प्राप्त गरे।

‘प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि गोकुल शर्माले जित्दै ५१ हजार रुपैयाँ हात पारे।

समापन समारोहमा कोसी प्रदेशका पूर्वमन्त्री उद्धव थापा, प्रदेशसभा सदस्य छविलाल चुँडाल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेललगायतले विजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।

कोसी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षसँग जोडेर माघ २१ गतेदेखि सुरु गरिएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजक पक्षले जनाएको छ। प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक चर्चा बटुल्न सफल भएको संयोजक सुब्बाले बताए।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.