आहा! रारा गोल्डकप: मनाङको उत्कृष्ट पुनरागमन, एपीएफलाई हराउँदै क्वाटरफाइनलमा
पोखरा – २५औँ आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई २–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको छ।
पोखरा रंगशालामा बिहीबार सम्पन्न तेस्रो प्रि–क्वाटरफाइनल खेलमा सुरुआती अग्रता एपीएफले लिए पनि त्यसलाई जोगाउन नसक्दा मनाङले सशक्त पुनरागमन गर्दै जित हात पार्यो।
खेलको ११औँ मिनेटमा एपीएफका युवराज राईले गोल गर्दै टोलीलाई अघि बढाएका थिए। सुरुमै पछि परेको मनाङ केही समय दबाबमा देखिए पनि दोस्रो हाफमा खेलमा फर्कियो।
५७औँ मिनेटमा रोनिस ढेके राजभकले बराबरी गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाए। त्यसपछि ७७औँ मिनेटमा सुरेश कुमालले निर्णायक गोल गर्दै मनाङलाई क्वाटरफाइनलमा पुर्याए।
एपीएफले केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
उत्कृष्ट प्रदर्शनका लागि मनाङका रोनिस ‘म्यान अफ दि म्याच’ घोषित भए। खेलको उद्घाटन सहारा हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले गरेका थिए।
अब मनाङले फागुन ४ गते क्वाटरफाइनलमा भारतको सिक्किम थण्डरबोल्ट नर्थ युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।
यसैबीच, शुक्रबार हुने अन्तिम प्रि–क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्। खेल दिउँसो ४ बजेपछि सुरु हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिएका छन्।

टिप्पणी लेख्नुहोस्