झापा – डोमालाल राजवंशी रंगशालामा जारी एक्स्ट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले आयोजक Jhapa-11 Football Club लाई टाई ब्रेकरमा ४–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो।
खेलको ६१औँ मिनेटमा झापाले अग्रता बनाएको थियो। नारायण क्षेत्रीको कर्नरमा विदेशी खेलाडी रिचार्ड विल्सनले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाए। तर, उक्त अग्रता लामो समय टिक्न सकेन। ६७औँ मिनेटमा एपीएफका स्ट्राइकर नवीन लामाले डिबक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार क्रसबारमा ठोक्किँदै गोलमा परिणत भएपछि खेल पुनः बराबरीमा आयो।
बराबरीपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल टाई ब्रेकरमा पुगेको थियो। पेनाल्टीमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गर्दै टोलीलाई जित दिलाए। झापाका तर्फबाट रोमन भुजेल र रोहन कार्कीले मात्र सफल प्रहार गर्न सके। नारायण क्षेत्री र गौरव धिमालको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले उत्कृष्ट रूपमा बचाए।
उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक एञ्जल श्रेष्ठ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
यस जितसँगै एपीएफले कम्तीमा ७ लाख ५० हजार रुपैयाँ सुनिश्चित गरेको छ। प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै उत्कृष्ट खेलाडीलाई यामाहा कम्पनीको मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत शनिबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबबीच हुनेछ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्