लेख विवरण

एन्फा महिला च्याम्पियनसिप: एनआरटीको विजयी सुरुआत, गाईघाट एफसी २–० ले पराजित

एन्फा महिला च्याम्पियनसिप: एनआरटीको विजयी सुरुआत, गाईघाट एफसी २–० ले पराजित

उदयपुर – एन्फा महिला च्याम्पियनसिप प्रतियोगितामा न्यु रोड टिम (एनआरटी) ले प्रभावशाली खेल प्रदर्शन गर्दै गाईघाट एफसीलाई २–० ले हराएको छ। गाईघाटस्थित थरुहट रंगशालामा सम्पन्न खेलमा एनआरटीले सुरुदेखि नै आक्रामक रणनीति अपनाउँदै मैदानमा पकड जमाएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ४७औँ मिनेटमा एनआरटीकी जर्सी नम्बर ११ की प्रतीक्षा ठकुरीले आकर्षक प्रहारमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसपछि पनि निरन्तर दबाब बनाएको एनआरटीले ७९औँ मिनेटमा जर्सी नम्बर ८ की सुशिला केसीको उत्कृष्ट गोलमार्फत जित सुनिश्चित गर्‍यो।

गाईघाट एफसीका खेलाडीहरूले उत्साहजनक प्रदर्शन गरे पनि प्राप्त अवसरहरूलाई सदुपयोग गर्न नसक्दा हार टार्न सकेनन्। घरेलु दर्शकको समर्थनका बाबजुद गोल गर्ने अवसर खेर जाँदा टोली निराश बन्न पुग्यो।

खेलमा निर्णायक भूमिका खेलेकी प्रतीक्षा ठकुरी ‘म्यान अफ द म्याच’ घोषित भइन्।

यस नतिजासँगै एनआरटीले प्रतियोगितामा मजबुत उपस्थिति जनाएको छ। अब फागुन ४ गते एनआरटीले त्रिभुवन आर्मी एफसीसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

प्रतियोगिताअन्तर्गत फागुन २ गते नेपाल पुलिस क्लब र एफसी रियलबीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र छहारी एफसी आमनेसामने हुनेछन्।

प्रतियोगिताको उद्घाटन दक्षिण एसियाली फुटबल महासंघका महासचिव पुरुषोत्तम कट्टेलले एक औपचारिक कार्यक्रमबीच गरेका थिए। एन्फाका महासचिव किरण राईका अनुसार प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुनेछ।

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.