लेख विवरण

आहारारा पोखरा गोल्ड कप: प्लानिङ ब्वाइजको प्रभावशाली जित, क्वार्टरफाइनल यात्रा तय

आहारारा पोखरा गोल्ड कप: प्लानिङ ब्वाइजको प्रभावशाली जित, क्वार्टरफाइनल यात्रा तय

पोखरा– पोखरा रंगशालामा जारी २४औँ आहारारा पोखरा गोल्ड कप अन्तर्गत शुक्रबार सम्पन्न खेलमा प्लानिङ ब्वाइज युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

फ्रेन्ड्स क्लबमाथि ४–० को फराकिलो जित निकाल्दै प्लानिङ ब्वाइजले प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो। पहिलो हाफमै अग्रता लिएको ब्वाइजले दोस्रो हाफमा थप आक्रामक खेल प्रस्तुत गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो।

खेलको २४औँ मिनेटमा एलेक्स विलियनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। फ्रेन्ड्सका खेलाडीबाट पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल भएपछि पाएको अवसरलाई उनले सफलतापूर्वक सदुपयोग गरे। पहिलो हाफको इन्जुरी समयतिर पापा इबोकले अर्को गोल थप्दै प्लानिङ ब्वाइजलाई २–० को आरामदायी स्थितिमा पुर्‍याए।

दोस्रो हाफमा पनि पापाले उत्कृष्ट लय कायम राखे। उनले ५४औँ र ८१औँ मिनेटमा गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे र टोलीलाई ४–० को स्पष्ट जित दिलाए। प्रभावशाली प्रदर्शनका कारण पापा इबोक ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

फ्रेन्ड्स क्लबले पनि केही अवसर सिर्जना गरेको थियो। १०औँ मिनेटमा राजेश परियारको प्रहारलाई विपक्षी गोलरक्षक योगेश धिमालले उत्कृष्ट बचाउ गर्दै गोल हुनबाट रोकेका थिए। यद्यपि, समग्रमा फ्रेन्ड्सले पाएका अवसरलाई गोलमा परिणत गर्न सकेन।

फ्रेन्ड्सका मुख्य प्रशिक्षक रमेश महर्जनले व्यस्त खेल तालिकाका कारण खेलाडी थाकेका र त्यसले प्रदर्शनमा असर परेको प्रतिक्रिया दिए।

प्रतियोगिताअन्तर्गत शनिबार पहिलो क्वार्टरफाइनल खेल आयोजक सहारा क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे हुनेछ। यसअघि बिहीबार सम्पन्न खेलमा मनाङ मस्याङ्दी क्लबले एपिएफ क्लबलाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरिसकेको छ।

प्रतियोगितामा तीन विदेशी टिमसहित १२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.