काठमाडौं । दोस्रो संस्करणको महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ । प्रतियोगिता फागुन ११ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले गर्नुभएको हो । उद्घाटन समारोहमा खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुष र महिलातर्फ ५-५ टोली सहभागी छन् । पुरुषतर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम र बागमती प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन् । महिलातर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम र बागमती प्रदेशका टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
संघकी महासचिव सुवर्ण श्रेष्ठका अनुसार पुरुष र महिलातर्फ राउण्ड रोविन लिग प्रणाली अपनाइएको छ, जसअनुसार सबै टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
राष्ट्रिय स्तरमा हक्की खेलको विकास र प्रदेशस्तरका खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले देशभर हक्कीप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्