महोत्तरी, जलेश्वर – महोत्तरी सदरमुकाम जलेश्वरस्थित ल.च.मु. जलेश्वर रंगशालामा नरेश सिंह क्रिकेट एकेडमीद्वारा छैठौं अन्तरविद्यालय क्रिकेट प्रतियोगिता फाल्गुन ६ गतेदेखि आयोजना हुन लागेको छ।
प्रतियोगितामा शिशुज्ञान निकुञ्ज, न्यू मोडर्न, एडवांस लर्नर्स हिमालयन इंग्लिश बोर्डिंग, वीणा विद्या मन्दिर लगायतका विद्यालयले सहभागिता जनाइसकेका छन्। आयोजकले सहभागी विद्यालयबाट कुनै प्रवेश शुल्क लिने छैन भनी जानकारी दिएका छन्।
कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी हुने प्रतियोगिता लिग स्तरिय हुनेछ र आईसीसीका निर्धारित नियमहरू अनुसार संचालन हुनेछ। लिग चरणको उत्कृष्ट प्रदर्शन गर्ने दुई टोलीबीच फाइनल खेल आयोजना गरिनेछ।
क्रिकेट प्रशिक्षक सुनिल साहका अनुसार, “विद्यालय स्तरका विद्यार्थीहरूलाई प्रशिक्षण दिने र प्रतिभा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो। यसले खेलाडीको विकासमा मात्र नभई दर्शकलाई पनि खेलको रणनीति र शैली बुझ्ने अवसर प्रदान गर्दछ।”
यस वर्षको प्रतियोगिताका प्रमुख रितेश सिंहले भने, “महोत्तरीमा क्रिकेटको उचित मञ्चको आवश्यकता र खेलप्रतिको आकर्षण कायम राख्न नरेश सिंह क्रिकेट एकेडमीले विगतदेखि यस्ता प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। स्थानीय स्तरमा आयोजना हुने प्रतियोगिताले खेलाडीहरूको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्छ।”
नरेश सिंह क्रिकेट एकेडमी स्व. नरेश सिंहको नाममा स्थापना गरिएको हो। स्व. नरेश सिंह महोत्तरीमा क्रिकेट र खेलाडीको उत्थान तथा प्रोत्साहनमा सक्रिय भूमिका निर्वाह गर्ने व्यक्तित्वका रूपमा परिचित थिए। आयोजकले स्थानीय समुदाय र खेलाडीहरूको निरन्तर सहयोगले प्रतियोगिताहरू सफल हुँदै आएको जनाएको छ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्