काठमाडौं/न्युजिल्यान्ड – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा चर्चित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)ले गम्भीर घुँडाको चोटका कारण जटिल शल्यक्रिया आवश्यक परेको जनाउँदै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। उनी पछिल्ला सात हप्तादेखि चोटका कारण मैदानबाहिर छिन्।
भण्डारीका अनुसार उनको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर राखिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर क्षति पुगेको छ। चिकित्सकले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन्। यसअघि एन्फा नेतृत्वको पहलमा उनको उपचार व्यवस्थापन र सहयोग भएको थियो, जसले समयमै पुनरागमन सम्भव भएको उनले स्मरण गरिन्।
तर यसपटक एन्फाबाट अपेक्षित प्रशासनिक सहयोग नपाएको उनको गुनासो छ। चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाले प्रक्रिया अघि बढाउने बताएको र पछि सोअनुसार काम अघि नबढेको उनले उल्लेख गरेकी छन्। अघिल्लो साता एन्फा अध्यक्षबाट प्रशासनिक सहयोग सम्भव नभएको जानकारी आएको तथा नगद ५ लाख रुपैयाँसम्म सहयोग गर्ने प्रस्ताव आएको उनले बताइन्। यसबीचमा पहिले सुरु गरिएको प्रक्रिया रोकिएको र करिब दुई महिनापछि मात्र पुनः शल्यक्रियाको मिति लिनुपर्ने अवस्था बनेको उनको भनाइ छ।
हाल क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउन तयार रहेको जानकारी दिएको छ। तथापि, चोटको जटिलता र यसअघि कतारस्थित Aspetar मा उच्चस्तरीय उपचार भएको अनुभवका आधारमा उनले पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा व्यक्त गरेकी छन्। क्लबले बीमाबाट प्राप्त रकम निकासा गरिदिने भए पनि शल्यक्रिया तथा ७–८ महिनाको रिह्याबका लागि उक्त रकम अपुग हुने बताइएको छ। प्रारम्भिक अनुमानअनुसार करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने जनाइएको छ।
सरकारी निकायमार्फत उपचार सहयोगका लागि पहल भइरहेको भए पनि प्रक्रिया अपेक्षाअनुसार अघि नबढेकाले ढिलाइ भइरहेको उनले बताइन्। करिअरभर चुनौती सामना गर्दै आएकी भण्डारीले यसपटक पनि पुनरागमनका लागि समर्थकहरूको साथ आवश्यक परेको उल्लेख गर्दै सहयोगको याचना गरेकी छन्।
इजरायल, फ्रान्स, न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दा पनि आफूले सधैं नेपालको प्रतिनिधित्व गरेको अनुभूति भएको उनको भनाइ छ। “थाकेको हो, हारेको छैन। पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु,” उनले विश्वास व्यक्त गरेकी छन्।
नेपालमा रहेका सहयोगीहरूले उपलब्ध क्यूआर वा बैंकमार्फत सहयोग गर्न सक्नेछन् भने विदेशमा रहेका समर्थकहरूले अनलाइन प्लेटफर्ममार्फत सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्