महोत्तरी, जलेश्वर – स्वर्गीय नरेश सिंहको स्मृतिमा आयोजना गरिएको छैटौं संस्करणको अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि एडवान्स्ड लर्नर्स हिमालयन इंग्लिस बोर्डिङ स्कुल (एल्हेब्स) ले जितेको छ।
जलेश्वरस्थित लक्ष्मी चण्डी मुरारका खेल मैदानमा सम्पन्न फाइनल खेलमा एल्हेब्सले शिशुज्ञान निकुञ्ज विद्यालयलाई ७ विकेटले पराजित गर्दै ट्रफी उचालेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको शिशुज्ञान निकुञ्ज विद्यालयले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै ८६ रनको योगफल तयार पारेको थियो। मध्यम लक्ष्य पछ्याएको एल्हेब्सले संयमित सुरुआत गर्दै १३.५ ओभरमा ३ विकेट मात्र गुमाएर ८७ रन पूरा गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका एल्हेब्सका कप्तान निहाल साह ‘म्यान अफ द म्याच’ घोषित भए। प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेका रोहन मण्डल ‘बेस्ट बलर’, रोहन पासवान ‘बेस्ट ब्याट्सम्यान’ तथा निहाल साह ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका थिए।
क्रिकेट प्रशिक्षक सुनिल साहले विद्यालय तहबाटै खेलाडी उत्पादन र प्रतिभा पहिचान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीलाई प्रतिस्पर्धात्मक अनुभव दिलाउने मात्र नभई खेलप्रतिको समझ र अनुशासन विकासमा समेत टेवा पुर्याउँछ।
यस संस्करणका प्रमुख रितेश सिंहले महोत्तरीमा क्रिकेटप्रतिको आकर्षण जोगाइराख्न र खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउन प्रतियोगिता नियमित रूपमा आयोजना हुँदै आएको जानकारी दिए। स्थानीयस्तरमा हुने यस्ता गतिविधिले नयाँ खेलाडीलाई अवसर प्रदान गर्नुका साथै जिल्लामा क्रिकेट संस्कृतिको विस्तारमा योगदान पुर्याउने उनको भनाइ छ।
नरेश सिंह क्रिकेट एकेडमी स्व. नरेश सिंहको नाममा स्थापना गरिएको संस्था हो। क्रिकेटको विकास र खेलाडीको प्रोत्साहनमा सक्रिय रहेका स्व. सिंहको योगदानलाई स्मरण गर्दै एकेडेमीले विगत केही वर्षदेखि निरन्तर प्रतियोगिता सञ्चालन गर्दै आएको आयोजकले जनाएको छ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्