लेख विवरण

बेलायतमा नेपाली क्रिकेट लिगलाई शैक्षिक संस्थाको साथ

बेलायतमा नेपाली क्रिकेट लिगलाई शैक्षिक संस्थाको साथ

काठमाडौँ। बेलायतमा आयोजना हुँदै आएको प्रतिष्ठित नेपाली क्रिकेट प्रतियोगिता ब्रिटिश गोर्खाली क्रिकेट लिग (बीजीसीएल) को मुख्य प्रायोजक शैक्षिक परामर्श संस्था ब्रिज इन्टरनेशनल बनेको छ।

लन्डनस्थित ‘लिटिल काठमाडौँ’मा आयोजित विशेष समारोहबीच दुई संस्थाबीच प्रायोजनसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। कार्यक्रममा विभिन्न क्रिकेट तथा सामुदायिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

समारोहका प्रमुख अतिथि तथा नेशनल एसियन क्रिकेट काउन्सिलका अध्यक्ष गुलफ्राज रियाजले बेलायतमा नेपाली समुदायले क्रिकेटमार्फत पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। त्यस्तै ह्याम्पशायर क्रिकेट बोर्डका साइमन जोन्स र इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डका पूर्व प्रबन्धक पल बेडफोर्डले पनि बीजीसीएलले नेपाली खेलाडीहरूलाई दिएको मञ्च उल्लेखनीय रहेको बताए।

यसैगरी केन्ट क्रिकेट फाउन्डेसनका क्रिष्टियन राइस, किदाशा फाउन्डेसनका निक ब्यारी तथा पोर्चुगल क्रिकेटका पूर्व कप्तान मधुकर थापाले लिगको निरन्तर सफलताको शुभकामना व्यक्त गरे।

ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले शिक्षा र खेलकुदलाई परिपूरक रूपमा अघि बढाउने लक्ष्यसहित सहकार्य गरिएको बताउँदै नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरमा अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। संस्थाका अध्यक्ष महेश गिरीले नेपाली मूलका खेलाडीलाई व्यावसायिक र प्रतिस्पर्धात्मक मञ्चमा एकत्रित गर्न पाउनु गर्वको विषय भएको उल्लेख गर्नुभयो।

बीजीसीएल बेलायतमा नेपाली खेलाडीलाई लक्षित गरी ४० ओभरको ढाँचामा सञ्चालन हुने पहिलो तथा एकमात्र लिगका रूपमा स्थापित छ। हालसम्म पाँच संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको यो लिग क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध रहेको छ।

कार्यक्रममा बीजीसीएलका अध्यक्ष गम गुरुङले लिगको आवश्यकता, उद्देश्य र प्राविधिक व्यवस्थापनबारे जानकारी दिँदै आगामी संस्करण अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.