मेलबर्न, अष्ट्रेलियाको मेलबर्न शहरमा १५औँ संस्करणको ‘क्यान्डेल कन्सल्टेन्सी कप’ आयोजना हुने भएको छ। प्रतियोगिता सन् २०२६ को मार्च ७ र ८ तारिखका दिन Darebin International Sports Centre मा सञ्चालन हुनेछ।
यस प्रतिष्ठित प्रतियोगितामा ‘ओपन एज’ र ‘३५ वर्ष माथि (फरेभर योङ्ग)’ गरी दुई विधामा प्रतिस्पर्धा गरिने आयोजकले जनाएको छ। सिड्नी, क्यानबेरा र एडिलेड लगायत अष्ट्रेलियाका विभिन्न शहरबाट टोलीहरूको सहभागिता रहनेछ।
हालै सम्पन्न विशेष समारोहबीच प्रतियोगिताको अफिसियल टाइ–ड्र सार्वजनिक गरिएको हो। ओपन क्याटेगोरीतर्फ सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा होमवुस राइनो फुटबल क्लब (सिड्नी), खुकुरी एफसी (क्यानबेरा), नेपवोर्न एफसी र यती फुटबल क्लब रातो रहेका छन्।
समूह ‘बी’ मा सिद्धकाली एफसी (एडिलेड), युनाइटेड फुटबल क्लब, रोयल फुटबल क्लब र हिमालयन फुटबल क्लब परेका छन्।
समूह ‘सी’ मा एभरेष्ट युनाइटेड एफसी, रोयल वेस्टर्न एफसी, एनी एफसी र चन्द्र सूर्य एफसी रहेका छन्।
समूह ‘डी’ मा यती एफसी ब्लु, जगजित श्रेष्ठ एकेडेमी (एडिलेड), द हिमालयन टाइगर्स र हिमालयन युथ क्लब (सिड्नी) रहेका छन्।
लिग कम नकआउट प्रणालीका आधारमा सञ्चालन हुने यो प्रतियोगिता अष्ट्रेलियामा नेपाली क्लबहरूबीचको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता मानिन्छ। प्रतियोगितामा कुल २२ हजार अष्ट्रेलियन डलर पुरस्कार राशि निर्धारण गरिएको छ। ओपन क्याटेगोरीतर्फ विजेताले १२ हजार डलर र उपविजेताले ४ हजार ५०० डलर नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। ‘फरेभर योङ्ग’ विधातर्फ विजेताले २,५०० डलर र उपविजेताले १,००० डलर पुरस्कार पाउनेछन्। साथै विभिन्न व्यक्तिगत विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।
गत वर्ष सम्पन्न १४औँ संस्करणको फाइनलमा यति फुटबल क्लबले रोयल वेस्टर्न क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो।
प्रतियोगितामा नेपालका राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका चर्चित खेलाडीहरूको पनि सहभागिता रहने बताइएको छ। यति फुटबल क्लबका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक सज्जन शर्माले प्रतियोगिताले अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच आपसी भाइचारा र एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्