लेख विवरण

पुलिसद्वारा जय ट्रफीको उपाधि रक्षा, आर्मी पुनः उपविजेतामा सीमित

पुलिसद्वारा जय ट्रफीको उपाधि रक्षा, आर्मी पुनः उपविजेतामा सीमित

काठमाडौँ, चैत ५ गते: नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप क्रिकेटको उपाधि पुनः जित्दै आफ्नो वर्चस्व कायम राखेको छ। फाइनलमा त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो पटक उपाधि उचालेको हो।

उपाधिका लागि आर्मीले प्रस्तुत गरेको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्‍यो। पुलिसको जितमा रसिद खान नायक बने, जसले ८१ रनको उत्कृष्ट इनिङ्स खेले। उनले १२८ बलमा आठ चौका र तीन छक्का प्रहार गरे। त्यस्तै कुशल भुर्तेलले अर्धशतक (५१ रन) बनाए भने दिनेश खरेलले २५ र कप्तान आरिफ शेखले १४ रनको योगदान दिए।

आर्मीका बलरमध्ये पवन कार्की र शाहब आलमले समान दुई विकेट लिए भने आकाश चन्द र भीम सार्कीले एक–एक विकेट हात पारे।

यसअघि दोस्रो इनिङ्समा आर्मीले २२६ रनको योगफल तयार पारेको थियो। आर्मीका लागि आकाश चन्दले ३७, कुशल मल्लले ३६, शाहब आलमले ३३ र भीम सार्कीले ३२ रन बनाए। जवाफी बलिङमा पुलिसका सागर ढकाल चम्किए, उनले चार विकेट लिए भने करण केसी र ललित राजवंशीले समान तीन–तीन विकेट झारे।

फाइनलको पहिलो इनिङ्समा दुवै टोलीले समान २२१ रन बनाएपछि खेल रोमाञ्चक बनेको थियो। निर्धारित दुई दिवसीय ढाँचाबाट परिवर्तन गर्दै फाइनललाई तीन दिवसीय बनाइएको थियो। यसअघि तय गरिएको मिति निर्वाचनका कारण सारिएको थियो।

प्रतियोगितामा अघिल्लो संस्करणको प्रधानमन्त्री कप क्रिकेटका शीर्ष चार टोली—पुलिस, आर्मी, एपीएफ क्लब र बागमती प्रदेश—बीच प्रतिस्पर्धा भएको थियो।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.