एपिएफ र आर्मीको विजयी सुरुवात, पिएम कपमा रोमाञ्चक प्रतिस्पर्धा
काठमाडौँ, चैत ८ — प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबले शानदार जितसहित अभियान सुरु गरेको छ।
मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा एपिएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गर्यो। २७२ रनको लक्ष्य पछ्याएको बागमती ४५.१ ओभरमा २०० रनमै अलआउट भयो।
बागमतीका लागि विवेक मगरले ३४ रन बनाउँदै सर्वाधिक योगदान दिए। सुवास खत्री (२७), उत्तम मगर (२६), शिभम् तिवारी (२५), रिजन ढकाल (अविजित २०) र इशान पाण्डे (१७) ले मध्यम प्रदर्शन गरे पनि टोलीलाई जिततर्फ डोर्याउन सकेनन्।
एपिएफको बलिङमा कप्तान रोहित पौडेल र अभिषेक गौतम चम्किए। दुवैले समान तीन–तीन विकेट लिए भने कमल ऐरी, नन्दन यादव, युवराज खत्री र अमर रौटेलाले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७१ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो। ओपनर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ११४ रनको शतक प्रहार गरे। उनको इनिङ्समा १४ चौका र तीन छक्का समावेश थियो। सन्दीप जोराले ५२ रन जोड्दा लोकेश बम (२९) र युवराज खत्री (अविजित २६) ले उपयोगी योगदान दिए।
बागमतीका लागि रिजन ढकालले चार विकेट लिए भने इशान पाण्डेले दुई विकेट हात पारे। सन्दीप लामिछाने र सोनु देवकोटाले एक–एक विकेट लिए।
उता, तल्लो मुलपानी मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २२ रनले हरायो। २४४ रनको लक्ष्य पछ्याएको पुलिस ४५.३ ओभरमा २२१ रनमा समेटियो।
पहिले ब्याटिङ गरेको आर्मीले ४७ ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो।
प्रतियोगितामा तीन विभागीय टोली—नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबसहित सात प्रदेशका टोली गरी कुल १० टोली सहभागी छन्। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

टिप्पणी लेख्नुहोस्