इङ्ल्यान्डमा सम्पन्न काराबाओ कप फाइनलमा म्यानचेस्टर सिटीले आर्सेनल लाई २–० गोल अन्तरले पराजित गर्दै सिजनको पहिलो उपाधि जितेको छ।
फाइनल खेलका नायक युवा खेलाडी निको ओ'रेली बने, जसले मात्र चार मिनेटभित्र दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए। उपलब्ध तथ्याङ्कअनुसार यो म्यानचेस्टर सिटीको नवौं लिग कप उपाधि हो भने प्रशिक्षक पेप गार्डियोलाको नेतृत्वमा पाँचौं सफलता मानिएको छ।
पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रह्यो। दुवै टोलीले आक्रमण गरे पनि गोल हुन सकेन। यस क्रममा गोलकिपर जेम्स ट्राफोर्डले उत्कृष्ट बचाउ गर्दै आर्सेनलका केही महत्वपूर्ण अवसर विफल पारे। आर्सेनलले केही राम्रो मौका सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन।
दोस्रो हाफमा भने म्यानचेस्टर सिटीले खेलमा पकड जमाउन थाल्यो। आक्रमणमा तीव्रता ल्याउँदै करिब एक घण्टापछि ओ’रेल्लीले गोलकिपरको गल्तीको फाइदा उठाउँदै पहिलो गोल गरे। त्यसको केही मिनेटमै उनले अर्को गोल थप्दै खेलको नतिजा लगभग सुनिश्चित गरे।
दोस्रो गोलमा टोलीका खेलाडीबीच उत्कृष्ट तालमेल देखियो। सटीक पास र क्रसका कारण ओ’रेल्लीले सजिलो अवसर पाए। त्यसपछि आर्सेनलका लागि पुनरागमन निकै कठिन बन्यो।
खेलको दोस्रो हाफमा म्यानचेस्टर सिटीका मिडफिल्डरहरूले खेल पूर्ण रूपमा नियन्त्रणमा राखे। आर्सेनल दबाबमा देखियो र निर्णायक समयमा प्रभावकारी प्रदर्शन गर्न सकेन।
यस जितसँगै म्यानचेस्टर सिटीले उपाधि मात्र होइन, आफ्नो आत्मविश्वास पनि थप बलियो बनाएको छ। अर्कोतर्फ आर्सेनलका लागि यो हारले उपाधि दौडमा मानसिक दबाब बढाएको विश्लेषण गरिएको छ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्