तेस्रो मोना कप भलिबल तथा लक्की ड्र २०२६ भव्य रूपमा सम्पन्न
मलेसिया, मलेसियामा रहेका नेपालीहरूको सक्रिय संस्था म्याग्दी प्रवासी संघ (मोना) मलेसियाद्वारा आयोजित तेस्रो मोना कप भलिबल तथा लक्की ड्र २०२६ कार्यक्रम भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। मार्च २१, २२ र २३ तारिखसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा १८ टोलीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तीन दिनसम्म चलेको प्रतियोगितामा खेलाडीहरूले उत्कृष्ट खेलकौशल प्रदर्शन गरेका थिए भने दर्शकहरूको उल्लेखनीय उपस्थितिले खेललाई थप रोमाञ्चक बनाएको थियो। खेलहरू सौहार्दपूर्ण, प्रतिस्पर्धात्मक तथा अनुशासित वातावरणमा सम्पन्न भएका थिए।
प्रतियोगितामा गुल्मी सेवा समाज ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो। त्यसैगरी साथी भाइ टोलीले दोस्रो स्थान हासिल गर्यो भने आयोजक मोना मलेसिया तेस्रो स्थानमा रहन सफल भयो। विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमसँगै आयोजना गरिएको लक्की ड्र ले सहभागीहरूमा थप उत्साह थपेको थियो। जसअनुसार नं. 951 का विजय (शाह आलम) प्रथम, नं. 68 का श्री हरी बिस्वकर्मा दोस्रो तथा नं. 453 का बिनोद कुमार (सिराहा) तेस्रो हुन सफल भए। साथै अन्य सहभागीहरूले पनि सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
यस कार्यक्रमले मलेसियामा रहेका नेपालीहरूबीच आपसी एकता, सहकार्य र भाइचारा मजबुत बनाउनुका साथै खेलकुदमार्फत स्वास्थ्य र सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ रहेको छ।
विशेषतः, विदेशमा रहेर पनि आफ्नो जिल्ला र समुदायप्रतिको माया, पहिचान र एकता झल्काउने माध्यमका रूपमा यस्तो कार्यक्रमको महत्व अझ बढ्दै गएको देखिन्छ। कार्यक्रम सफल बनाउन आयोजक टिम, स्वयंसेवक, प्रायोजक, खेलाडी तथा दर्शकहरूको सक्रिय भूमिका रहेको थियो।
अन्त्यमा, आयोजकले आगामी दिनमा अझ व्यवस्थित र भव्य रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सहयोगी तथा सहभागीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

टिप्पणी लेख्नुहोस्