काठमाडौं । आईपीएल २०२६ सिजनको सुरुवात रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र सनराइजर्स हैदराबादबीचको खेलसँगै भएको छ। रोमाञ्चक उद्घाटन खेलमा आरसीबीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
यस खेलमा सनराइजर्स हैदराबादको कप्तानी इशान किशनले सम्हालेका छन्। नियमित कप्तान प्याट कमिन्स चोटका कारण पूर्ण रूपमा फिट नभएकाले किशनलाई जिम्मेवारी दिइएको हो। २७ वर्ष २५३ दिनको उमेरमा कप्तानी सम्हाल्दै उनी टोलीका दोस्रो सबैभन्दा कान्छा कप्तान बनेका छन्। यसअघि केन विलियमसनले २०१८ मा २७ वर्ष २४४ दिनको उमेरमा सनराइजर्सको कप्तानी गरेका थिए।
किशनका लागि कप्तानी नयाँ भने होइन। उनले घरेलु क्रिकेट सैयद मुश्ताक अली ट्रफीमा झारखण्ड टोलीको नेतृत्व गर्दै उपाधि जिताइसकेका छन्। आईपीएलमा भने उनले ११९ खेल खेलेपछि पहिलो पटक कप्तानी गर्ने अवसर पाएका हुन्। यस सूचीमा रविन्द्र जडेजा (२०० खेल) शीर्ष स्थानमा छन् भने मनिष पाण्डे, अक्षर पटेल, किरोन पोलार्ड र सूर्यकुमार यादव पनि धेरै खेल खेलेपछि कप्तान बनेका खेलाडी हुन्।
उता आरसीबीले आईपीएल इतिहासमा सातौं पटक सिजनको पहिलो खेल खेलिरहेको हो। सनराइजर्सले भने २०१७ पछि दोस्रो पटक उद्घाटन खेल खेल्ने अवसर पाएको छ। डिफेन्डिङ च्याम्पियन आरसीबीले यस खेलमा याकूब डफी र अभिनन्दन सिंहलाई डेब्यु गर्ने मौका दिएको छ।
टसपछि कप्तान किशनले पिच फ्रेश देखिएको भन्दै पहिले ब्याटिङ वा बलिङ गर्नु खासै फरक नपर्ने बताएका थिए। उनले टोलीले योजनाअनुसार खेल्ने र प्याट कमिन्सको अनुपस्थितिको कमी महसुस हुने पनि बताए।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्