कोहलपुर गोल्डकप २०८३: खेलकुद र पर्यटनको समिश्रणमा चौथो संस्करण आउँदै
कोहलपुर । पश्चिम नेपालको कोहलपुरमा चौथो कोहलपुर गोल्डकप आगामी वैशाख १९ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिताको जानकारी दिँदै संयोजक कर्ण बहादुर बस्नेतले यस वर्षको प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहने बताए।
उनका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनका तीन क्लब, विदेशी दुई क्लब, मोफसलका दुई क्लब र आयोजक टिम एक रहनेछन्। विजेताले आठ लाख तथा उपविजेताले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
यस संस्करणले खेलकुदलाई पर्यटनसँग जोड्ने विशेष पहल गरेको छ। फाइनलसम्म पुगेका दुई टिमलाई बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराइनेछ। त्यसैगरी सहभागी टिमका खेलाडीलाई स्थानीय होमस्टे अनुभव, मौलिक खानपान र बसाईको अनुभव गराइने व्यवस्था मिलाइएको छ।
प्रतियोगितालाई थप व्यावसायिक, आकर्षक र व्यवस्थित बनाउन व्यवस्थापन तथा मार्केटिङको जिम्मेवारी ईश्वरी युनाइटेड प्रा.लि. लाई दिइएको छ। आयोजकको लक्ष्य यस पटक खेलकुदलाई पर्यटनसँग जोडेर नयाँ उचाइमा पुर्याउनु रहेको छ।
विगतका तीन संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। गत वर्षको तेस्रो संस्करणमा पश्चिम नवलपरासीको दुधौली स्पोर्ट्स युवा क्लब विजयी भएको थियो भने आयोजक कोहलपुर रेसिङ साहारा क्लब उपविजेता बनेको थियो।
प्रतियोगिताको खेल तालिका र मुख्य प्रायोजकको विवरण आगामी दिनमा सार्वजनिक गरिने जानकारी पनि आयोजकले दिएका छन्।
यस संस्करणले स्थानीय फुटबलको विकास मात्र नभई कोहलपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्