लेख विवरण

आईपीएल २०२६ः एकतर्फी जितसँगै आरसीबीले बनायो नयाँ किर्तिमान

आईपीएल २०२६ः एकतर्फी जितसँगै आरसीबीले बनायो नयाँ किर्तिमान

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराउँदै शानदार सुरुआत गरेको छ। आरसीबीले २०० रनभन्दा माथिको लक्ष्य सहज रूपमा पूरा गर्दै एकतर्फी जित निकालेको हो।

एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाउँदै २०१ रन बनायो। टोलीका लागि इशान किशनले ८० रनको उत्कृष्ट पारी खेले भने अनिकेत वर्माले ४३ रनको योगदान दिए।

२०२ रनको लक्ष्य पछ्याएको आरसीबीले १५.४ ओभरमै ४ विकेट गुमाउँदै २०३ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्‍यो। यससँगै आईपीएल इतिहासमै २००+ लक्ष्य सबैभन्दा छिटो पूरा गर्ने नयाँ कीर्तिमान आरसीबीले बनाएको छ।

यसअघि यो रेकर्ड राजस्थान रोयल्सको नाममा थियो, जसले २०२५ मा गुजरात टाइटन्स विरुद्ध १५.५ ओभरमा लक्ष्य पूरा गरेको थियो।

आरसीबीको जितमा विराट कोहली र देवदत्त पडिक्कल मुख्य नायक बने।

कोहलीले ३८ बलमा ६९ रनको अविजित पारी खेल्दै ५ चौका र ५ छक्का प्रहार गरे। उनले १८१ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै किन उनलाई ‘चेज मास्टर’ भनिन्छ भन्ने प्रमाणित गरे।

उनलाई राम्रो साथ दिएका पडिक्कलले २६ बलमा ६१ रन बनाउँदै ७ चौका र ४ छक्का प्रहार गरे। दुवैले दोस्रो विकेटका लागि १०१ रनको महत्वपूर्ण साझेदारी गरे।

आरसीबीले सनराइजर्सविरुद्ध दोस्रो सबैभन्दा ठूलो रन चेज पनि पूरा गरेको छ। यसअघि २०१४ मा पञ्जाब किंग्स (त्यतिबेला किंग्स इलेभेन पञ्जाब) ले २०६ रनको लक्ष्य हासिल गरेको थियो।

यससँगै आईपीएल इतिहासमा आरसीबीको यो तेस्रो सफल २००+ रन चेज बनेको छ।

आरसीबीले नयाँ सिजनमा आक्रामक संकेत दिँदै उपाधि रक्षा अभियानलाई बलियो सुरुआत गरेको छ भने हैदरावादले आगामी खेलहरूमा सुधार आवश्यक देखिएको छ।

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.