काठमाडौं। अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)ले ओलम्पिक खेलमा महिला क्याटेगोरीमा ट्रान्सजेन्डर महिला र “डिफरेन्सेस इन सेक्स डेभलपमेन्ट (डिएसडी)” भएका एथ्लिटहरूको सहभागितामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
आईओसीकी अध्यक्ष कर्स्टी कभेन्ट्रीले यो निर्णय सार्वजनिक गर्दै जैविक रूपमा पुरुष एथ्लिटहरूले महिला क्याटेगोरीमा प्रतिस्पर्धा गर्नु उपयुक्त नहुने बताइन्।
आईओसीले अब महिला क्याटेगोरीमा खेल्न चाहने सबै एथ्लिटका लागि एसआरवाई जीन स्क्रिनिङ अनिवार्य गरेको छ। यो परीक्षण जैविक महिलामा समेत लागू हुनेछ।
स्क्रिनिङ लार, गालाको स्वाब वा रगतको नमूनामार्फत गरिने बताइएको छ। आईओसीले अन्तर्राष्ट्रिय खेल महासंघ, राष्ट्रिय ओलम्पिक कमिटी तथा महादेशीय संघहरूले पनि यो नीति अपनाउने अपेक्षा गरेको छ।
यो निर्णय पेरिस ओलम्पिक २०२४ पछि बढेको विवादका बीच आएको हो। उच्च टेस्टोस्टेरोन स्तर वा एक्सवाई क्रोमोसोम भएका एथ्लिटहरूको सहभागिताले महिला प्रतिस्पर्धाको निष्पक्षतामाथि प्रश्न उठाएको थियो।
उक्त ओलम्पिकमा इमाने खेलिफ (अल्जेरिया) र लिन यु-टिंग (चिनियाँ ताइपेई) ले स्वर्ण पदक जितेका थिए। दुवैमाथि प्रतियोगिताअघि जेंडर परीक्षणमा असफल भएको आरोप लागेको थियो।
विशेषगरी, अन्तर्राष्ट्रिय बक्सिङ संघले खलीफ २०२३ मा नयाँ दिल्लीमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा जेंडर टेस्टमा असफल भएको दाबी गरेपछि उनी चर्चामा आएका थिए।
पछिल्लो एक दशकभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय खेल क्षेत्रमा महिला क्याटेगोरीमा ट्रान्सजेन्डर र डिएसडी एथ्लिटहरूको सहभागिता विवादको विषय बन्दै आएको छ।
२०२१ मा न्यूजिल्याण्डकी वेटलिफ्टर लोरेल हब्बार्ड ओलम्पिक महिला क्याटेगोरीमा प्रतिस्पर्धा गर्ने पहिलो ट्रान्सजेन्डर एथ्लिट बनेकी थिइन्।
आईओसीले नयाँ नीति ल्याउँदा प्रभावित एथ्लिटहरूसँग व्यक्तिगत रूपमा परामर्श गरिएको, एथ्लिट आयोगसँग सल्लाह लिइएको तथा वैज्ञानिक आधार, अन्तर्राष्ट्रिय खेल महासंघका नियम र कानुनी पक्षलाई समेत ध्यानमा राखिएको जनाएको छ।
यो निर्णयले आगामी ओलम्पिकहरूमा महिला क्याटेगोरीको संरचना र सहभागितामा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्