सुनसरी । हाम्रो भेट्रान क्लब इटहरी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा मंगलबार सम्पन्न क्वाटरफाइनल खेलमा इटहरीले एभरेस्ट भेट्रान क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
इटहरीको जितमा तिर्थ याक्सो नायक बने। उनले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गरी ह्याट्रिक पूरा गरे। याक्सोकै शानदार प्रदर्शनका कारण उनी खेलको म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताअन्तर्गत बुधबार हुने चौथो क्वाटरफाइनल खेलमा हाम्रो भेट्रान क्लब धरानले सिक्किमको बर्मिक नाम्फिङ भेट्रान क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक भारतीय टोलीसहित ८ वटा टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै, विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
टिप्पणी लेख्नुहोस्