लेख विवरण

आइपिएल २०२६: श्रेयस अय्यरको कप्तानी इनिङ्सले पन्जाब किंग्सलाई दिलायो कीर्तिमानी जित

आइपिएल २०२६: श्रेयस अय्यरको कप्तानी इनिङ्सले पन्जाब किंग्सलाई दिलायो कीर्तिमानी जित

चण्डीगढ, २९ चैत (एजेन्सी) । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को १७औँ खेलमा पन्जाब किंग्सले सनराइजर्स हैदरावादमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ । मुल्लानपुरस्थित महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा २२० रनको विशाल लक्ष्य पन्जाबले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो ।

विशाल लक्ष्यको सफल पछ्यावट : पन्जाबको जितमा कप्तान श्रेयस अय्यरले अविजित ६९ रनको महत्वपूर्ण पारी खेले । उनले ३३ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै टोलीलाई जितको दिशा दिए । पन्जाबलाई विस्फोटक सुरुवात दिलाउने क्रममा ओपनर प्रियान्श आर्यले २० बलमा ५७ रन र प्रभसिमरन सिंहले २५ बलमा ५१ रनको योगदान दिए । प्रियान्शले मात्र १६ बलमा अर्धशतक प्रहार गरेका थिए । मध्यक्रममा नेहाल वढेराले १४ रन बनाउँदा शशांक सिंह १६ रनमा अविजित रहे ।

हैदरावादका लागि शिवंग कुमारले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए पनि अन्य बलर महँगा सावित भए ।

अभिषेक शर्माको कीर्तिमानी ब्याटिङ: यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१९ रनको बलियो योगफल तयार पारेको थियो । ओपनर अभिषेक शर्माले विष्फोटक ब्याटिङ गर्दै मात्र २८ बलमा ८ छक्का र ५ चौकाको मद्दतले ७४ रन बनाए । अर्का ओपनर ट्राभिस हेडले २३ बलमा ३८ रनको योगदान दिए । यी दुईबीच पहिलो विकेटका लागि ८ ओभरमै १२० रनको साझेदारी भएको थियो ।

यस्तै हेनरिक क्लासेनले ३९ र इशान किशनले २७ रन बनाए । पन्जाबका लागि शशांक सिंह र अर्शदीप सिंहले समान २–२ विकेट लिए ।

पन्जाबको नयाँ कीर्तिमान यो जितसँगै पन्जाब किंग्स आइपिएल इतिहासमा १० पटक २०० वा सोभन्दा बढीको लक्ष्य सफलतापूर्वक पछ्याउने पहिलो टोली बनेको छ । आइपिएल २०२६ मा पन्जाब अहिलेसम्म अपराजित रहेको छ ।

प्लेयर अफ द म्याच: श्रेयस अय्यर (पन्जाब किंग्स)

टिप्पणी लेख्नुहोस्

Please Login to comment.