१५औँ गोर्खा कप २०२६ को दर्ता खुला: २६ हजार डलर पुरस्कार राशिको फुटबल महाकुम्भ अक्टोबरमा
टेक्सस, अमेरिका — डि.जी. फाउन्डेसनको प्रस्तुतिमा आयोजना हुने नेपाली समुदायको प्रतिष्ठित फुटबल प्रतियोगिता '१५औँ गोर्खा कप २०२६' को आधिकारिक घोषणासँगै टिम दर्ता खुला गरिएको छ। आगामी अक्टोबर ३ र ४ तारिखमा अमेरिकाको टेक्ससस्थित ग्रेपभाइनमा यो ऐतिहासिक प्रतियोगिता सञ्चालन हुनेछ।
विश्वभरका नेपाली समुदायलाई फुटबलको माध्यमबाट जोड्ने एउटा साझा मञ्चको रूपमा स्थापित यो प्रतियोगिता यस पटक "७v७" फर्म्याटमा खेलाइने आयोजकले जनाएको छ।
यस वर्ष प्रतियोगिताको कुल पुरस्कार राशि २६,००० अमेरिकी डलर राखिएको छ, जसलाई दुई विधामा विभाजन गरिएको छ:
१. ओपन डिभिजन:
-
प्रथम पुरस्कार: $१०,०००
-
द्वितीय पुरस्कार: $४,५००
२. ३५ वर्ष माथि:
-
प्रथम पुरस्कार: $८,०००
-
द्वितीय पुरस्कार: $३,५००
प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूका लागि दर्ता शुल्क दुवै विधामा $१,००० तोकिएको छ। टिम दर्ता गर्ने अन्तिम मिति सेप्टेम्बर २७, २०२६ सम्म रहेको छ। इच्छुक टिमहरूले आयोजकको आधिकारिक वेबसाइट www.dallasgurkhas.org मार्फत अनलाइन दर्ता गर्न सक्नेछन्।
"परम्परा र खेल कौशलको संगम" भन्ने मूल मन्त्र बोकेको गोर्खा कपले १५ वर्षको सफल यात्रा पुरा गरेको छ। ओक ग्रोभ सकर कम्प्लेक्सको मैदानमा हुने यस प्रतियोगिताले केवल खेल मात्र नभई नेपाली पहिचान र समुदायको एकतालाई विश्वस्तरमा झल्काउने विश्वास लिइएको छ।
"यो फुटबल भन्दा ठूलो कुरा हो, यो हाम्रो विरासतको उत्सव हो," आयोजक डल्लास गोर्खाजले सामाजिक सञ्जालमार्फत बताएको छ।
अमेरिकाका विभिन्न राज्यहरू र विदेशबाट समेत टिमहरू सहभागी हुने यस महाकुम्भले डल्लासको खेलकुद पर्यटनमा समेत ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्