लिग वान: पीएसजीलाई आफ्नै मैदानमा स्तब्ध पार्दै लियोनको सनसनीपूर्ण जित
पेरिस (एजेन्सी) – फ्रेन्च लिग वान अन्तर्गत आइतबार राति भएको रोमाञ्चक खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लज्जास्पद हार बेहोरेको छ। बलियो टोली पीएसजीलाई उसैको घरेलु मैदान 'पार्क डेस प्रिन्सेस' मा ओलम्पिक लियोनले २-१ गोल अन्तरले पराजित गरेको हो।
लियोनलाई महत्वपूर्ण जित दिलाउन युवा स्टार एन्ड्रिक र अफोन्सो मोरेराले एक-एक गोल गरे। खेलको छैटौं मिनेटमै ब्राजिलियन युवा खेलाडी एन्ड्रिकले गोल गर्दै लियोनलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको केही समयपछि १८औं मिनेटमा एन्ड्रिककै पासमा अफोन्सो मोरेराले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
खेलमा ७७ प्रतिशत समय बलमाथि नियन्त्रण जमाए पनि पीएसजीले फिनिसिङमा निकै संघर्ष गर्नुपर्यो। खेलको ३३औं मिनेटमा पीएसजीले पेनाल्टीको अवसर पाएको थियो, तर गोन्कालो रामोसको प्रहार लियोनका गोलकिपर डोमिनिक ग्रेफले उत्कृष्ट बचाउ गरे।
खेलको इन्जुरी समयमा ख्विचा क्रात्स्केलियाले गोल गर्दै पीएसजीलाई पुनरागमनको आशा देखाए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।
यो हारसँगै लिगको शीर्ष स्थानमा रहेको पीएसजीको उपाधि यात्रामा धक्का लागेको छ। लिग वानको उपाधि दौडमा रहेको पीएसजीले महत्त्वपूर्ण अंक गुमाउँदा लियोनले भने शानदार जितका साथ तीन अंक बटुलेको छ।

टिप्पणी लेख्नुहोस्