ललित मोदीको सनसनीपूर्ण खुलासा: 'सन् २०११ को आईपीएलमा एक टोली मालिकले गरेका थिए तान्त्रिक प्रयोग'
नयाँ दिल्ली (एजेन्सी) – इन्डियन प्रिमियर लिग (IPL) का पूर्व अध्यक्ष ललित मोदीले एउटा चकित पार्ने खुलासा गरेका छन्। हालै सामाजिक सञ्जालमा 'कालो जादु' (Black Magic) सँग सम्बन्धित एउटा भिडियो र पत्र भाइरल भएपछि मोदीले सन् २०११ को एउटा पुरानो घटना सार्वजनिक गरेका हुन्।
हालै जारी आईपीएल २०२६ अन्तर्गत चेन्नई सुपर किंग्स (CSK) र सनराइजर्स हैदरावाद (SRH) बीचको खेलका क्रममा एक प्रशंसकले 'कागती' प्रयोग गरेर टोटका गरिरहेको भिडियो सार्वजनिक भएको थियो। संयोगवश सोही समयमा शिवम् दुबे आउट भएका थिए। यसपछि सीएसकेले बीसीसीआईलाई उजुरी दिएको भनिएको एउटा पत्र पनि भाइरल भयो, जसलाई मोदीले 'नक्कली' बताएका छन्।
तर, सोही सन्दर्भमा मोदीले एक्स (ट्विटर) मा पोस्ट गर्दै लेखेका छन्, "यो पटकको पत्र नक्कली देखिए पनि विगतमा एक टोलीका मालिकले यस्तै हर्कत गरेका थिए।" मोदीका अनुसार सन् २०११ को सिजनमा एक टोलीका मालिकले विपक्षी टोलीको ड्रेसिंग रुममा गएर तान्त्रिक प्रयोग वा कालो जादु गरेका थिए।
मोदीले थपेका छन्, "मलाई याद छ, मैले सन् २०११ मै विपक्षी टोलीका मालिकहरूलाई यसबारे सचेत गराएको थिएँ। मसँग त्यसको ठोस प्रमाण समेत थियो।" उनले ती टोली मालिकको नाम भने खुलाएका छैनन्। तर, भविष्यमा आउने आफ्नो फिल्म वा टिभी सिरिजमा ती व्यक्ति को थिए भन्ने कुरा सप्रमाण सार्वजनिक गर्ने उनले बताएका छन्।
आईपीएलमा खेल जित्नका लागि यस्ता अन्धविश्वास र तान्त्रिक विधिको प्रयोग भएको खुलासाले क्रिकेट जगतमा नयाँ बहस सिर्जना गरिदिएको छ।

टिप्पणी लेख्नुहोस्