आईपीएल २०२६: कोलकातासँगको हारपछि १५ वर्षीय वैभव सूर्यवंशी मैदानमै भक्कानिए, रिंकु सिंहले सम्हाले
कोलकाता (एजेन्सी) – इन्डियन प्रिमियर लिग (IPL) २०२६ अन्तर्गत आइतबार राति सम्पन्न रोमान्चक खेलमा राजस्थान रोयल्स (RR) कोलकाता नाइट राइडर्स (KKR) सँग पराजित भएपछि राजस्थानका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी मैदानमै रोएका छन्। इडेन गार्डेन्समा भएको अन्तिम ओभरसम्मको प्रतिष्पर्धामा राजस्थान ४ विकेटले पराजित भएको थियो।
खेल सकिएपछि विज्ञापन बोर्डको पछाडि बसेर रोइरहेका सूर्यवंशीलाई देखेपछि कोलकाताका खेलाडीहरू उनलाई सान्त्वना दिन पुगेका थिए। विशेष गरी कोलकाताका ब्याटर रिंकु सिंहले उनलाई अंकमाल गर्दै सम्हालेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
शानदार पारी तर टिमको हार
वैभवले यस खेलमा राजस्थानका लागि २८ बलमा ४६ रनको उत्कृष्ट पारी खेलेका थिए, जसमा ६ चौका र २ छक्का सामेल थिए। उनको यो शानदार प्रदर्शनका बावजुद टोलीले झिनो अन्तरले हार बेहोर्नु परेपछि उनी निकै भावुक बनेका थिए। यो सिजनमा ६ खेलमा २४६ रन बनाएका सूर्यवंशी हाल ओरेन्ज क्यापको दौडमा चौथो स्थानमा छन्।
राष्ट्रिय टिमको चर्चा
सूर्यवंशीको खेलप्रतिको यो लगाव र प्रदर्शन देखेर उनलाई छिट्टै भारतीय राष्ट्रिय टोलीमा स्थान दिनुपर्ने आवाज उठ्न थालेको छ। राजस्थानका प्रशिक्षक विक्रम राठौरले पनि वैभवको प्रतिभाको प्रशंसा गर्दै उनलाई दबाब बिना आफ्नो खेलको आनन्द लिन दिनुपर्ने बताएका छन्।
उपाधि होडमा रहेको राजस्थानका लागि यो हारले केही धक्का पुर्याए पनि सूर्यवंशीको प्रदर्शन र खेलप्रतिको समर्पणले भने सबैको मन जितेको छ।

टिप्पणी लेख्नुहोस्