महाराष्ट्रमा अचम्मको घटना: निमन्त्रणा नपाएको झोंकमा नेताले क्रिकेट पिचमै ट्रयाक्टर चलाइदिए
मुम्बई (एजेन्सी) – भारतको महाराष्ट्रमा एक स्थानीय नेताले रिसको झोंकमा क्रिकेट पिचमै ट्रयाक्टर चलाएर खेल बिथोलेका छन्। महाराष्ट्रको जलगाउँ जिल्लाको धरणगाउँमा भइरहेको 'विधायक ट्रफी' क्रिकेट प्रतियोगिताको फाइनल खेलका क्रममा यो स्तब्धकारी घटना भएको हो।
समाचार अनुसार धरणगाउँ नगर परिषद्का अध्यक्षले आफूलाई प्रतियोगितामा अतिथिको रूपमा निमन्त्रणा नगरिएको भन्दै आक्रोश व्यक्त गरेका थिए। सोही नाराजगीका कारण उनले मैदानभित्र ट्रयाक्टर छिराएर पिचलाई पूर्ण रूपमा तहसनहस बनाइदिएका हुन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा ट्रयाक्टरले पिचको घाँस उखेल्दै र माटो खन्दै गरेको देखिन्छ। पिच कामै नलाग्ने गरी बिग्रिएपछि चलिरहेको फाइनल खेल बीचमै रद्द गर्नु परेको थियो। मैदानमा उपस्थित खेलाडी र दर्शकहरू यो घटना देखेर अचम्ममा परेका थिए।
स्थानीय प्रहरीले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिए पनि आयोजकहरूले मुद्दा मामिला अघि नबढाउने निर्णय गरेका कारण हालसम्म कुनै औपचारिक उजुरी (FIR) दर्ता नगरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो घटनाले खेल भावना र सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

टिप्पणी लेख्नुहोस्