लेख विवरण

विश्वकप इतिहासको अविष्मरणीय क्षण: 'ह्यान्ड अफ गड' र म्याराडोनाको त्यो जादुमयी गोल

विश्वकप इतिहासको अविष्मरणीय क्षण: 'ह्यान्ड अफ गड' र म्याराडोनाको त्यो जादुमयी गोल

एजेन्सी । विश्वकप फुटबल सुरु हुन अब ५२ दिन मात्र बाँकी छ । यसै सन्दर्भमा फुटबल इतिहासकै सबैभन्दा चर्चित र विवादास्पद खेलको चर्चा गर्दा अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोना र सन् १९८६ को विश्वकप क्वार्टरफाइनललाई भुल्न सकिँदैन।

मेक्सिकोको अज्टेका स्टेडियममा इङ्गल्याण्ड विरुद्ध भएको उक्त खेलमा म्याराडोनाले चार मिनेटको अन्तरालमा गरेका दुई गोलले फुटबलको परिभाषा नै बदलिदिएको थियो।

'ह्यान्ड अफ गड': फुटबल इतिहासकै ठूलो विवाद

खेलको ५१ औं मिनेटमा म्याराडोनाले इङ्गल्याण्डका गोलरक्षक पिटर शिल्टनलाई जम्प गर्दै हातले बल प्रहार गरी गोल गरेका थिए। इङ्गल्याण्डका खेलाडीहरूले 'ह्यान्डबल'को अपिल गरे पनि ट्युनिसियाली रेफ्री अली बिन नासेरले त्यसलाई गोलको मान्यता दिए। पछि म्याराडोनाले उक्त गोललाई ठट्टा गर्दै "थोरै म्याराडोनाको टाउको र थोरै भगवानको हात" (Hand of God) को संज्ञा दिएका थिए।

शताब्दीकै उत्कृष्ट गोल (Goal of the Century)

विवादास्पद गोल गरेको चार मिनेटपछि नै म्याराडोनाले आफ्नो खेल कौशलको अर्को नमुना पेस गरे। उनले आफ्नै हाफबाट बल अगाडि बढाउँदै पाँच जना इङ्गल्याण्डका खेलाडी र गोलरक्षकलाई जिल्याउँदै गोल गरे। ६० मिटरको उक्त एकल दौड र फिनिसिङलाई पछि फिफाले 'शताब्दीकै उत्कृष्ट गोल' घोषणा गरेको थियो।

राजनीतिक र खेलकुदको अर्थ

यो खेल अर्जेन्टिनाका लागि केवल फुटबल मात्र थिएन। सन् १९८२ को फकल्याण्ड टापुको युद्धमा बेलायतसँग पराजित भएको अर्जेन्टिनाका लागि यो खेल मैदानमा लिइएको बदला जस्तै थियो। म्याराडोनाले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई उक्त विश्वकपको उपाधि जिताउँदै आफूलाई विश्वकै महान् खेलाडीको रूपमा स्थापित गरे।

विश्वकप नजिकिँदै गर्दा म्याराडोनाका यी दुई गोलले अझै पनि फुटबल प्रेमीहरूलाई रोमाञ्चित बनाउने गर्दछ— एउटा जसले नियमलाई चुनौती दियो र अर्को जसले फुटबलको सौन्दर्यलाई शिखरमा पुर्‍यायो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.