प्रिमियर लिग: वेस्ट ह्यामसँग बराबरीमा रोकियो क्रिस्टल प्यालेस, वल्भ्स रेलिगेसनमा
लण्डन (एजेन्सी) – ईङ्ग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति सम्पन्न खेलमा क्रिस्टल प्यालेस र वेस्ट ह्याम युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सेल्हर्स्ट पार्कमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएका अवसरहरू सदुपयोग गर्न नसक्दा खेल ०-० को बराबरीमा सकिएको हो ।
यस बराबरीसँगै क्रिस्टल प्यालेस पछिल्लो चार खेलमा अपराजित रहेको छ । उता रेलिगेसनको दबाबमा रहेको वेस्ट ह्यामले भने महत्वपूर्ण एक अंक जोड्न सफल भएको छ । यो नतिजासँगै रेलिगेसन क्षेत्रमा रहेको उल्भरह्याम्पटन वान्डरर्स (वल्भ्स) को च्याम्पियनसिपमा घटुवा (रेलिगेसन) पक्का भएको छ ।
घरेलु मैदानमा क्रिस्टल प्यालेसले खेलको सुरुवातदेखि नै दबाब बनाएको थियो । पहिलो हाफमा ब्रेनन जोन्सनले गोल गर्ने केही सुन्दर अवसरहरू गुमाएका थिए । त्यस्तै, वेस्ट ह्यामका डिफेन्डर कोन्स्टान्टिनोस माभ्रोपानोसको सशक्त हेडरलाई प्यालेसका गोलकिपर डिन हेन्डरसनले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमै राखेका थिए ।
खेलको ८२ औं मिनेटमा वैकल्पिक खेलाडी स्माइला सारले बललाई जाली चुमाउँदै घरेलु समर्थकलाई उत्साहित बनाएका थिए । तर, भिडियो असिस्टेन्ट रेफ्री (VAR) ले जाँच गर्दा गोल हुनुअघि जीन-फिलिप माटेटाको हातमा बल लागेको देखिएपछि उक्त गोललाई मान्यता दिइएन ।
यो बराबरीपछि वेस्ट ह्याम रेलिगेसन क्षेत्रभन्दा केही सुरक्षित स्थानमा उक्लिएको छ भने क्रिस्टल प्यालेसले युरोपेली छनोटको आफ्नो गणितीय सम्भावनालाई जीवितै राखेको छ । वेस्ट ह्यामका प्रशिक्षक नुनो एस्पिरिटो सान्तोले यो अंक टोलीका लागि सिजनको अन्त्यमा निर्णायक हुन सक्ने प्रतिक्रिया दिएका छन् ।
वेस्ट ह्यामले अब आफ्नो अर्को खेलमा एभर्टनको सामना गर्नेछ भने क्रिस्टल प्यालेसले बलियो प्रतिद्वन्द्वी लिभरपुलसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

टिप्पणी लेख्नुहोस्