चन्द्रगढी महिला गोल्डकप: १० खेलाडीमा सीमित पुलिसको पुनरागमन जित, लक्ष्मीबाई एकेडेमी ५–१ ले पराजित
बिर्तामोड । झापाको चन्द्रगढीमा जारी प्रथम चन्द्रगढी महिला गोल्डकपमा विभागिय टोली नेपाल पुलिस क्लबले सानदार जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। बुधबार भएको खेलमा पाहुना टोली भारतको रानी लक्ष्मीबाई फुटबल एकेडेमीलाई ५–१ को फराकिलो अन्तरले हराउँदै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो।
खेलको सुरुवातमा पुलिसका लागि स्थिति अनुकूल थिएन। १४औँ मिनेटमा पुलिसकी पहिलो रोजाइकी गोलकिपर उषा नाथले डिबक्स बाहिर आएर बल समातेपछि उनले रातो कार्ड पाउँदै मैदान छाड्नुपर्यो। पुलिस १० खेलाडीमा सीमित भयो र सोही फ्रिकिकको रिबाउन्ड बलमा लक्ष्मीबाईकी हेमन्ती कुमारीले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाइन्।
एक गोलले पछि परेको र १० खेलाडीमा खुम्चिएको अवस्थामा पनि पुलिसले उच्च मनोबलका साथ खेल्यो:
-
३८औँ मिनेट: मिना देउवाको पासमा रेखा पौडेलले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन्।
-
४६औँ मिनेट: कर्नरबाट आएको बललाई कप्तान अमृता जैसीले वान टचमा गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाइन्।
-
५३औँ मिनेट: सम्झना लावतीले गोल गर्दै पुलिसको अग्रता थप बलियो बनाइन्।
-
६७औँ मिनेट: स्ट्राइकर मिना देउवाले टोलीका लागि चौथो गोल गरिन्।
-
इन्जुरी समय: पूजा रानाले मध्यभागबाट प्रहार गरेको लङ रेञ्जर सट गोलमा परिणत भएपछि पुलिस ५–१ ले विजयी भयो।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक गोल र असिस्ट समेत गरेकी पुलिसकी पूजा राना 'प्लेयर अफ द म्याच' घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
अब सेमिफाइनलमा पुलिसले अर्को विभागिय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ। प्रतियोगिता अन्तर्गत बिहीबारको अन्तिम क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ।

टिप्पणी लेख्नुहोस्