इलाम गोल्डकप: पथरी–११ माथि मच्छिन्द्रको सानदार जित, फाइनलमा स्थान सुरक्षित
इलाम । राजधानीको प्रतिष्ठित क्लब मच्छिन्द्र फुटबल क्लब इलाममा जारी 'इलाम गोल्डकप'को फाइनलमा प्रवेश गरेको छ। बुधबार ठूलो टुँडिखेलमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा पथरी–११ माथि ५–२ को फराकिलो जित निकाल्दै मच्छिन्द्रले उपाधि नजिकको यात्रा तय गरेको हो।
मच्छिन्द्रको जितमा मिलन चाम्लिङ नायक बने। उनले खेलको १३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। यद्यपि, मच्छिन्द्रको अग्रता धेरै समय टिक्न पाएन; खेलको १७औँ मिनेटमै पथरीका मौसम लिम्बूले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए। ३०औँ मिनेटमा मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफसम्म मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए। उत्कृष्ट प्रदर्शन गरेका मिलन 'म्यान अफ दि म्याच' समेत घोषित भए।
दोस्रो हाफमा मच्छिन्द्रले थप आक्रामक खेल पस्कियो। खेलको ५०औँ मिनेटमा सौरभ सुब्बाले गोल गर्दै अग्रता ३–१ बनाए। ७०औँ मिनेटमा पथरीका सुजल डंगोलले गोल गरी अन्तर कम गर्ने प्रयास गरे पनि मच्छिन्द्रको दबाब कायमै रह्यो। ८०औँ मिनेटमा अविनाश स्याङत्याङ र इन्जुरी समयमा श्याम मुर्मुले गोल थपेपछि मच्छिन्द्र ५–२ को सानदार जितका साथ फाइनल पुग्न सफल भयो।
आयोजक रेडहर्ष फुटबल क्लबका अनुसार बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र झापाको रोलिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस खेलको विजेताले फाइनलमा मच्छिन्द्रको सामना गर्नेछ।
पुरस्कार राशी प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ:
-
सर्वोत्कृष्ट खेलाडी: ५१ हजार रुपैयाँ
-
सर्वाधिक गोलकर्ता: २५ हजार रुपैयाँ
-
उत्कृष्ट (गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक): जनही १५ हजार रुपैयाँ
-
प्लेयर अफ दि म्याच: ८ हजार रुपैयाँ

टिप्पणी लेख्नुहोस्