लेख विवरण

नाइजेरियाका पूर्व स्ट्राइकर माइकल एनेरामोको मैदानमै ढलेर निधन

नाइजेरियाका पूर्व स्ट्राइकर माइकल एनेरामोको मैदानमै ढलेर निधन

एजेन्सी । नाइजेरियाका पूर्व अन्तर्राष्ट्रिय फुटबलर माइकल एनेरामोको ४० वर्षको उमेरमा निधन भएको छ । खेलको क्रममा मैदानमै अचानक ढलेपछि उनको दुखद निधन भएको हो ।

नाइजेरियाली सञ्चारमाध्यमका अनुसार एनेरामो आफ्नो देशमा एक स्थानीय खेल खेलिरहेका थिए । खेलको पहिलो हाफ सफलतापूर्वक खेलेका उनी दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै मैदानमा ढल्न पुगेका थिए । उनलाई मैदानमै प्राथमिक उपचार र होसमा ल्याउने प्रयास गरिए पनि सफल हुन सकेन । तत्कालै नजिकैको अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।

नाइजेरिया फुटबल महासंघका महासचिव मोहम्मद सानुसीले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई फुटबल परिवारका लागि 'स्तब्धकारी' खबर भनेका छन् ।

कस्तो थियो उनको खेल जीवन?

एनेरामोले नाइजेरियाको राष्ट्रिय टोली (सुपर ईगल्स) का लागि १० खेल खेल्दै ३ गोल गरेका थिए । उनले सन् २०१० को विश्वकप छनोट खेलमा ट्युनिसियाविरुद्ध महत्वपूर्ण गोल गरेका थिए ।

व्यावसायिक फुटबलमा उनी टर्कीका क्लबहरू बेसिक्टास, इस्तानबुल बासाकसेहिर र सिभासपोरबाट खेल्थे, जहाँ उनको शारीरिक शक्तिका कारण उनलाई 'द ट्याङ्क' उपनामले चिनिन्थ्यो । तर, उनले आफ्नो करियरको सबैभन्दा सफल समय ट्युनिसियाको क्लब एस्पेरान्समा बिताए, जहाँ उनले ८६ खेलमा ५१ गोल गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.